डोटी डायरी

पुस २, २०७६ | डोटी

१) डोटीका नागरिक समाजको टोलीले दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीलाई स्थानीय पाठ्यक्रम निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । अहिलेको शिक्षालाई ब्यवहारिक बनाउन स्थानीय पाठ्यक्रम अपरिहार्य रहेको उनीहरुले बताएका छन् । माध्यामिक तहसम्मको जिम्मेवारी स्थानीय तहको भएकाले स्थानीय परम्परा, संस्कृति, भूगोल र वातावरणको पहिचान झल्कने गरी पाठ्यक्रम बनाउन ध्यानाकर्षण गराएको छ । मंगलबार, विभिन्न संघ संस्थामा कार्यरत कर्मचारी, नागरिक समाज तथा सञ्चारकर्मीको टोली नगरपालिकामा गई ध्यानार्कषण पत्र बुझाएको थियो । ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख मञ्जु मलासीले आफूहरु स्थानीय पाठ्यक्रम बनाउने तयारीमा रहेको जानकारी दिनुभयो । ध्यानाकर्षण पत्र पेश गर्नेमा राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।

२) केहीदिन यताबाट बढेको चिसोले डोटीका लेकाली बस्तीको जनजीवन प्रभावित बन्दै गएको छ । खप्तडको मध्यावर्ती क्षेत्रमा पर्ने डौड, चौखुट्टे, बगलेक, काँडामाण्डौ तथा तेल लेकको क्षेत्रमा पर्ने गणेश काँडा, नाहापानी, शिखर लगायतका बासिन्दा बढी प्रभावित भएका छन् । सेती नदी तथा स्थानीय खोला आसपास रहेका बस्तीमा बिहानीपख जम्मा हुने तुसारोले चिसो बढाएको छ । दिपायल, गोपघाट, बानडुंग्रीसैन लगायतका बजारहरुमा बिहानीपख हिँड्डुल गर्नै नसकिने गरी चिसो बढेको स्थानीय ब्यापारी गोपाल माझिले बताउनुुभयो । हिमपातसँगै परेको झरीले चिसो बढाएपछि वन्यजन्तु समेतलाई समस्या भएको छ । खप्तडको चिसो सहन नसकेर बेसीतिर वन्यजन्तुहरु झर्न लागेको सायल ३ साप्राका देव बहादुर विष्टले बताए ।

३) डोटीका विभिन्न स्थानीय तहहरुमा निर्माण गरिएका भूकम्प प्रतिरोधी विद्यालय भवनहरु हस्तान्तरण गरिएको छ । सामुदायिक विकास केन्द्रले निर्माण गरेका भवनहरु आदर्श गाउँपालिका र सायल गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । आदर्श गाउँपालिका वडा नम्बर ३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय काँडी, भैरव आधारभूत विद्यालय भाडीसैन तथा सायल गाउँपालिकाको हिमालय आधारभूत विद्यालय, दल्लेख तथा तामेश्वरी आविका भवनहरु पनि हस्तान्तरण गरिएको सीडीसीका विपत जोखिम न्यूनिकरण अधिकृत प्रयागराज कापडीले जानकारी दिनुभयो । डोटीमा सामुदायिक विकास केन्द्र मार्फत परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोग र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित समुदाय र विद्यालय विपद पूर्व तयारी तथा उत्थानशिलता परियोजना मार्फत सुरक्षित र नमुना विद्यालय निमार्णको लागि सहयोग गर्दै आईरहेको छ ।

४) डोलीको केआईसिंह गाउँपालिकाको वडा नम्बर ५ स्थित भूवनेश्वरी माध्यामिक विद्यालयमा अध्यनरत छात्राहरु अहिले पनि महिनावारी भएका बेला स्कूल जानबाट वञ्चित हुँदै आएका छन् । विद्यालयको परिसरभित्र विभिन्न देवीदेवताका मन्दिरहरु रहेकाले अनिष्ट हुने भन्दै महिनावारी भएका बेला घरबाट आउन नदिने गरेको कक्षा १० क छात्रा इन्दिरा जोशीले दुखेसो पोखिन । रुढीबादीका रुपमा रहेको छाउपडी प्रथाबारे आफूहरु सचेत रहेपनि घर परिवारबाट कडाई गरिएकाले आफूहरुको पढाई प्रभावित हुँदै आएको छात्राहरुको दुखसो छ ।


प्रतिक्रिया