चितवन डायरी

पुस ३, २०७६ | चितवन

१) चितवनको क्षेत्रीय होटल संघ (हान) सौराहाले रात्रिकालीन जिप सफारी सञ्चालन गर्ने योजनालाई कायमै राखेको छ । रात्रिकालीन सफारीले वन्यजन्तुलाई असर गर्ने भन्दै विरोध भएको छ । तर, संघका अध्यक्ष दिपक भट्टराई सफारी सञ्चालन हुने क्षेत्रका बारेमा जानकारी नभएका कारण विरोध भएको बताउँछन् । उहाँले सफारी निकुञ्ज र मध्यवर्ती क्षेत्रको सामुदायिक वनभित्र सञ्चालन नहुने बताउनुभयो । त्यसैले वन्यजन्तुलाई असर नपर्ने उहाँको दाबी छ । सौराहाबाट पूर्व भण्डरा क्षेत्रसम्म जिप सफारी चलाउने उहाँले जानकारी दिनुभयो । गाउँ र राप्ती नदीमा लगाएको ड्याम सफारीको रुट हुनेछ । यो क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको तीन सय मिटर क्षेत्र मात्रै पार गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले पनि स्थानीयले जिप, ट्याक्टरहरु चलाउने रुटलाई व्यवस्थित गरेर रात्रिकालीन जिप सफारी सुरु गर्न लागेका कारण प्रचारमा आए जस्तो वन र वन्यजन्तुलाई असर नपर्ने उहाँको जिकिर छ ।

२) भरतपुर महानगरपालिका भित्रका अंग्रेजी माध्यममा पढाई हुने निजी विद्यालयले पनि आफ्नो नाम उल्लेख भएको साइन बोर्ड नेपालीमा पनि राख्नु पर्नेछ । महानगरको शैक्षिक प्रशासन महाशाखाले यस्तो नियम बनाएको हो । विद्यार्थीको परिचयपत्रमा समेत नेपालीमा पनि विवरण राख्नु पर्नेछ । आउँदो शैक्षिक शत्रअघि नै यस्तो व्यवस्था हुनेछ । यो नियम कार्यान्वयन गर्न निजी विद्यालयहरुको संस्था प्याब्सन मार्फत संस्थागत विद्यालयहरुमा सूचना पुर्‍याएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो । अंग्रेजी पढ्न नसक्ने व्यक्तिहरुलाई पनि विद्यालय र विद्यार्थीको पहिचान गर्न सजिलो होस भनेर यो व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो । नेपाली भाषाको प्रवर्धनका लागि पनि यो काम आवश्यक भएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका भित्र १ सय २३ वटा सामुदायिक (सरकारी) र ९७ वटा संस्थागत (निजी) विद्यालयहरु छन् ।

३) आफूले पकाएर खाने तरकारीमा विषादीको अवशेष छ वा छैन ? छ भने खान योग्य अवस्थामा छ कि त्यो भन्दा बढी छ भन्ने चासो र चिन्ता राख्ने नेपाली बढेका छन् । यो चिन्तालाई सम्बोधन गर्न नारायणगढमा विषादीको अवशेष जाँच्ने प्रयोगशाला खुलेको छ । नारायणगढ क्षेत्रपुरको तरकारी थोक बजारमा पुस एक गतेदेखि प्रयोगशाला सञ्चालनमा आएको छ । परीक्षण गर्दा खान योग्य मात्रामा अवशेष भेटिए बेच्न लगिन्छ । ३५ प्रतिशतसम्म अवशेष भेटिए बिक्री योग्य हुन्छ । ३५ देखि ४५ प्रतिशतसम्म भेटिए केही दिनसम्म शित भण्डारमा राख्नु पर्ने हुन्छ । त्योभन्दा बढी भए नष्ट नै गर्नु पर्ने प्रयोगशाला प्रमुख पूर्णिमा क्षेत्रीले जनाकारी दिनुभयो । त्यहाँबाट दैनिक ८० देखि सय टन फलफुल तथा तरकारी खरिद बिक्री हुन्छ ।

४) भूकम्पका कारण चितवनका विभिन्न क्षेत्रका भत्केका घर तथा संरचना पुनर्निर्माणको कार्य ६१ प्रतिशत पूरा भएको छ । पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थपन तथा स्थानीय पूर्वाधार कार्यालय भरतपुरका अनुसार जिल्लामा सात हजार ४ सय ६० लाभग्राही थिए । जसमध्ये चार हजार ५९५ जनाले काम पूरा गरेर तेस्रो किस्ता बापतको रकम लिईसकेको कार्यालयका इन्जिनियर सुजन नेपालले जानकारी दिनुभयो । 


प्रतिक्रिया