इलाम डायरी

पुस ४, २०७६ | इलाम

१) व्यापार घाटा कम गर्न बंगालादेश उत्तम गन्तव्य रहेपनि नेपालले पर्याप्त फाइदा उठाउन नसकेको सरोकारवालाले बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रमका सहभागीले जिल्लामा उत्पादित कृषि उपज सहित विभिन्न वस्तुलाई बंगलादेशको बजारमा पुर्‍याएर व्यापार घाटा कम गर्न सकिने औंल्याए । सब्जीदेखि नगदेबाली र जडीबुटीसम्मका वस्तु बंगलादेश निर्यात गर्ने पर्याप्त अवसर भएपनि सरकारको प्राथमिकतामा नपर्दा व्यापार घाटा बढ्दो छ । सन् २०१२/१३ मा बंगलादेशसँगको व्यापारमा नेपाल ५५ करोड ६१ लाख ९० हजार रुपैयाँ नाफामा थियो । २०१८/१९ मा २ अर्ब ९४ करोड ८७ लाख रुपैयाँ घाटामा छ । वैदेशिक व्यापारका लागि नेपाल छोटो दूरीका कारण पनि प्राथमिकतामा रहनु पर्ने मुलुक हो । बंगलादेशमा विदेशी उत्पादनका लागि तोकिएको महंगो करका कारण व्यापार घाटा बढ्दै गएकाले सरकारले कूटनीतिक तवरले समस्या सुल्झाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

२) आलुसहित विभिन्न बालीको खेती प्रर्वधन गर्ने उद्देश्यले गाउँमा नै कृषि केन्द्र सञ्चालनमा आएपनि कृषकले पर्याप्त सुविधा पाउन सकेका छैनन् । इलामको जौवारीमा रहेको आलु विकास केन्द्र ३० वर्षपछि सञ्चालनमा आएर कृषि केन्द्रको रुपमा सञ्चालित छ । मुख्य गरी आलुको बीउ उत्पादनमा केन्द्र केन्द्रित रहेपनि आवश्यकता अनुसार बीउ नपाएको गुनासो कृषकले गरेका छन् । बागवानी र नार्कले छुट्टा–छुट्दै रुपमा अध्ययन अनुसन्धान गर्दै आलु सहित बालीका बीउ उत्पादन गर्ने गरेका हुन् । भारतको दार्जिलिङ सीमावर्ती क्षेत्रको करीब ८ हजार रोपनी क्षेत्रफलको खाली जमिनलाई सदुपयोग गर्दै कृषिको गतिविधि बढाउने उद्देश्यले केन्द्र स्थापना भएको हो । माग अनुसार उत्पादन गर्न नसकिएकाले कृषकलाई न्यून मात्रामा उपलब्ध गराउँदै आएको केन्द्रका बाल मुकुन्द पैकाराले जानकारी दिनुभयो ।

३) जोखिम हटाउदँै गुणस्तरीय सेवा प्रभाव गर्ने उद्देश्यले विद्युत प्राधिकरणले पुराना काठे पोल हटाउने नीति लिएको छ । तर, इलाममा मात्र अझै २० हजार वटा पोल पुराना छन् । ४० हजार पोल मध्ये आधा मात्र स्टिलका छन् । काठे पोलका कारण कतिपय स्थानमा जोखिम बढेको गुनासो उत्तिकै आउने गरेको छ । सेवा क्षेत्र धेरै भएकाले सबै तिर ध्यान पुर्‍याउन नसकिएको प्राधिरणले जनाएको छ । विद्युतका पुराना पोल विस्थापित गर्न मात्रै करीब ६७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । जिल्लाको विद्युतीकरण हुन बाँकी ३० प्रतिशतका लागि अरु ५१ करोड रुपैयाँ लाग्नेछ । तर, चालू आर्थिक वर्षमा प्राधिकरण शाखालाई साढे ९ करोड रुपैयाँको मात्र सिलिङ उपलब्ध छ ।

४) मेची राजमार्गको विभिन्न स्थानमा भौगोलिक कारणले जोखिम निम्तिने गरेको छ । यस अघि २०६९ असोजमा मेची राजमार्गको कोल्बुङ किटेनी खण्डमा कल्पना समेत नगरिएको स्थानमा अकस्मत पहिरो खस्दा १४ जनाको ज्यान गयो । मेची राजमार्गमा यस्ता केहि स्थान छन्, जहाँ वर्षेनी ठूलो रकम खर्च गर्दा पनि सडकमा सुधार आउन सकेको छैन । झापाको चारआलीदेखि ताप्लेजुङसम्म २ सय ३० किलोमिटरको मेची राजमार्गको इलाम खण्डको किटेनी, भालुखोप, धजे, राजदुवाली लगायत क्षेत्र वर्षायाममा वर्षेनी जीर्ण बन्ने गरेको छ । इलाम नगरपालिकाको माइखोलाबारीको क्षेत्रको सडकमा करौडौ लगानी भएको छ । तर, निर्माण सम्पन्न भएसँगै सडक पुन: भासिने गरेका छन् । यस क्षेत्रको करीब आठ किलोमिटर क्षेत्रमा सडक भासिने समस्या छ । वर्षेनी यहाँको सडक धस्सिने क्रम निरन्तर रहेपछि आर्थिक वर्ष ०७१/७२ मा सडकको भासिएको स्थानमा नयाँ प्रविधिबाट निर्माण थालिएको थियो । भास्सिएको १ सय ५० मिटर सडकखण्डमा एंकरिङ प्रविधिमार्फत सडक पुनर्निर्माण गरेपनि पुन: जीर्ण बनेको छ ।


प्रतिक्रिया