लमजुङ डायरी

पुस २१, २०७६ | लमजुङ

लमजुङ डायरीबाट आश गुरुङको नमस्कार

– भूकम्प गएको करीब ४ बर्षको अवधीमा लमजुङमा लाभग्राहीका आधा घर पनि निर्माण हुन सकेका छैनन् । पहिचान भएका लाभग्राही संख्या १४ हजार ३३ मध्ये ६ हजार १ सय ३ जनाको नीजि आवास निर्माण भएका छन् । राष्ट्रिय पुन:निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यन्वयन इकाईका अनुसार लमजुङमा पहिचान भएका मध्ये १३ हजार ४ सय ४४ जनाले अनुदान सम्झौता गरेका छन् । ६ हजार १ सय ३ जनाले तेस्रो किस्ता लिएर नीजि आवास निर्माण गरिसकेको कार्यालय प्रमुख जगदिश मिश्रले बताउनुभयो । उहाँका अनुसार १३ हजार ४ सय १६ जनाले पहिलो किस्ता लगेका छन् । ९ हजार २ सय ४३ जनाले दोस्रो किस्ता लगेका छन् । प्रबलीकरण तर्फ पहिचान भएका ६ सय ६३ जना लाभग्राहीमध्ये ३ सय २० जनाले मात्रै अनुदान सम्झौता गरेका छन् । पहिलो किस्ता ३ सय ६ जनाले र तेस्रो किस्ता १ जनाले लगेका छन् ।

प्रहरी चौकी गिलुङ र प्रहरी चौकी गौंडाको नयाँ भवन निर्माण सम्पन्न भएपछि जीर्ण भवनमा बसेर काम गर्दै आएका प्रहरी नयाँ भवनमा सरेका छन् । राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको सहयोगमा २ वटा प्रहरी चौकी निर्माण गरिएको डीएसपी रबिन्द्रमान गुरुङले बताउनुभयो । उहाँका अनुसार क्व्होलासोंथर गाउँपालिका ९ गिलुङ टक्सार र दूधपोखरी गाउँपालिका ६ गौंडामा प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको छ । गिलुङको प्रहरी चौकी भवन भ्याटसहित १ करोड ४७ लाख ६८ हजार ९ सय ८० रुपैयाँ ४५ पैसामा निर्माण भएको हो । प्रहरी चौकी गौंडाको भवन भ्याटसहित १ करोड ४२ लाख ३५ हजार ८ सय ६१ रुपैयाामा निर्माण भएको हो ।

बेंसीसहर नगरपालिकाले सेवाग्राहीका लागि नि:शुल्क वाईफाईको व्यवस्था गरेको छ । सेवाग्राहीले इन्टरनेटको प्रयोग गरेर नगरपालिकाको वेवसाइटमार्फत सेवासुविधा थाहा पाउन सक्नेछन् । नगरपालिकाले कार्यालय परिसरमा नि:शुल्क वाइफाइको व्यवस्था गरेको हो । नगरपालिकाका सूचना प्रविधि अधिकृत मुकेश कुँवरले अधिकांश सेगाग्राही इन्टरनेट चलाउन चाहने, सूचना तथा जानकारी लिन चाहने भएकाले नगरपालिकाले नि:शुल्क वाइफाइको व्यवस्था गरेको बताउनुभयो । नि:शुल्क वाईफाईको व्यवस्था भएसंगै सेवाग्राहीले नगरपालिकाको वेबसाइट चलाउने, जानकारी हेर्ने, आवश्यक जानकारी प्राप्त गर्ने गरेको उहाँले बताउनुभयो । नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले कार्यालय परिसरमा सेवाग्राहीका लागि नि:शुल्क वाइफाइको व्यवस्था गरिएको र बढी भीडभाड हुने ठाउँमा नि:शुल्क वाइफाइका लागि प्राविधिक अध्ययन भइरहेको बताउनुभयो ।

च्यु ल्हो अर्थात् मुसा वर्गको स्वागतमा लमजुङका गुरुङ समुदायले स्योकैं अर्थात् सामुहिक भोज खाएर ल्होसार मनाइरहेका छन् । पुस १५ गते बेंसीसहरका सबै टोल मिलेर एक ठाउँमा जम्मा भएर स्यो कैं खाएका गुरुङ समुदायले टोलटोलमा विभिन्न कार्यक्रमको आयोजना गरी स्योकैं खाने कार्यक्रमलाई जारी राखेका छन् । उनीहरुले गुरुङ समुदायका गन्यमान्यलाई बोलाएर स्यो कैं खाने गरेका छन् ।

ह्वस् त लमजुङ डायरी आजलार्य यति नै, आश गुरुङ विदा माग्छु । नमस्कार


प्रतिक्रिया