धनुषा बम विस्फोट : शंकास्पद ३ पक्राउ, सीआईबीको टोली घटनास्थलमा

मंसिर २८, २०७६ | धनुषा

धनुषामा बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा गएराति साढे ११ बजे भएको विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहालसहित औषधि व्यवसायी ४८ वर्षीय राजेश्वर साह र उनका १६ वर्षीय छोरा आनन्दको मृत्यु भएको हो ।

साहका अर्का छोरा प्रकाश, छोरी अञ्जली, प्रहरी जवान रिजन महतो घाइते भएका छन् । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । घटनामा संलग्न रहेको आशंकामा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अनुसन्धान प्रभावित हुने भन्दै उनीहरुको परिचय भने प्रहरीले गोप्य राखेको छ । 

हिजो राति ११ बजेतिर साहले आफ्नो घरको गेट अगाडि शंकास्पद वस्तु देखपछि प्रहरीलाई फोन गरेका थिए । करीब २ किलोमिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दाहालको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनास्थल सिल गर्न खोज्ने क्रममा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

विस्फोटमा प्रयोग भएको बम शक्तिशाली भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रेसर कुकर भित्र बम जडान गरिएको भेटिएको छ । प्रहरीले घटनास्थलबाट केही व्याट्री तथा अन्य प्रविधिक उपकरणका टुक्रा समेत फेला पारेको छ । रिमोट कन्ट्रोल वा टाइम बम भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुन्न कार्कीले बताउनुभयो ।

 विस्फोट कस्ले र किन गराएको भन्ने खुल्न सकेको छैन । घटनामा प्रतिबन्धित नेत्र विक्रम चन्द समूहको संलग्नता हुन सक्ने आशंकामा प्रहरीको छ । पछिल्लो समय देशभित्र भएका अधिकास विस्फोटका घटनामा चन्द समूहको संलग्नता देखिएकाले पनि प्रहरी अनुसन्धानको सुई चन्द समूह तिर सोझिएको हो । 

साह कुनै राजनीतिक पार्टीसँग नजोडिएकाले चन्दाको लागि चन्द समूहले विस्फोट गराएको मात्र हुन सक्छ । घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईको टोली पनि धनुषा गएको छ । धनुषा प्रहरीले पनि प्रहरी निरीक्षक उमा शंकर साहको नेतृत्वमा ७ सदस्यीय छानबिन तथा अनुसन्धान समिति गठन गरेको छ ।

यसैबीच, गृहमन्त्री रामबहादुर थापाले प्रहरी निरीक्षक सहित ३ जनाको ज्यान जाने गरी धनुषामा भएको विस्फोट घटनाप्रति दुख ब्यक्त गर्दै दोषीमाथि कारबाही गरिने बताउनुभएको छ । यस्तै, गएराति नै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । 

कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराएको हो । विस्फोटबाट झ्याल, ढोकामा क्षति पुगेको छ । घटनामा संग्लनता भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।  


प्रतिक्रिया