प्रदेश २ मा किसानको ४ महिनाको व्याज सरकारले तिर्ने

चैत्र २८, २०७६ | जनकपुर

कोरोना महामारीका संन्त्रासका कारण गरिएको लकडाउनले किसान पीडित भएपछि प्रदेश २ सरकारले बैंक, वित्तीय संस्था तथा सहकारीबाट लिएको ऋणको ४ महिनाको व्याज तिरिदिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद बैठकले कृषि कर्मका लागि किसानहरुले ५ लाख रुपैयाँसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ । 

पाँच लाख देखि १५ लाख सम्मको ऋणमा १२ प्रतिशतसम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाख देखी ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋणमा व्याज तिर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउनुभयो । दूध, फलफुल, तरकारी, कुखुरा तथा माछामा अतिरिक्त राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । 

बैठकले कोरोना संक्रमण नियन्त्रण तथा उपचारमा खटिनेहरुको मृत्यु भए आश्रित परिवारलाई एक मुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले कोरोना महामारी नियन्त्रणका लागि नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोनाको सक्रमण भई मृत्यु भए पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । 


प्रतिक्रिया