उड्डयन प्राधिकरणद्वारा ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन

श्रावण २४, २०७७ | काठमाडौं

नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षका लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको नीति तथा कार्यक्रम एवं बजेटमा विमानस्थलको विकास र स्तरोन्नतिको कामलाई प्राथमिकतामा राखेको छ । 

प्राधिकरणले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट गत आर्थिक वर्षको तुलनामा ५ अर्ब ८५ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणले ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको थियो । यसवर्ष कोरोना भाइरसको महामारीका कारण विमानस्थल बन्द रहँदा आम्दानी घट्ने भएकाले बजेटको आकार पनि कम गरिएको प्राधिकरणले जनाएको छ ।

चार महिनायता प्राधिकरणका क्रियाकलाप बन्द भएकाले नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम समावेश भएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सँगै प्राधिकरणको संस्थागत सुधार, सञ्चार उपकरण, सुरक्षा उपकरण र मौसमी उपकरण जडान गर्ने विषयलाई प्राधिकरणले प्राथमिकता राखेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी चालू आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । 

यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने र अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न ७८ करोड रुपैयाँ विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयार गर्ने तथा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।

सडक रिपोर्ट 


प्रतिक्रिया