सभापति देउवाले आज थप विभागलाई पूर्णता दिदै

श्रावण २६, २०७७ | काठमाडौं

सभापति शेरबहादुर देउवाले विभिन्न विभागलाई पूर्णता दिन थालेपछि नेपाली कांग्रेसमा चर्काे असन्तुष्टि बढेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनलाई प्रभाव पार्ने गरि विभागलाई पूर्णता दिन नहुने अडान लिइरहेका समयमा सभापति देउवाले हिजो मात्रै १२ विभागमा ४ सय ५७ सदस्य नियूक्त गर्नुभएको छ ।

 सभापति देउवाले आज थप विभागलाई पूर्णता दिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सभापति देउवाले आगामी १४ औं महाधिवेशनलाई प्रभावमा पार्न एकलौटी निर्णय गरेको भन्दै संस्थापन इतरपक्षले आपत्ती जनाएको छ । 

कांग्रेस केन्द्रीय सदस्य जिवन परियारले सभापतिको पछिल्लो निर्णय विधान विपरित भएको भन्दै विभागलाई पुर्णता दिने विषयमा आफुहरुको सहमति नभएको बताउनुभयो । उहााले विधानमा व्यवस्था भएको २८ विभागबाट बढाएर ४७ पुऱ्याएको र महाधिवेशन नजिकिदै गर्दा आफ्ना मान्छेलाई विभागको जिम्मा दिनुमा महाधिवेशनलाई प्रभाव पार्ने मनसाय रहेको दावी गर्नुभयो । 

 संस्थापन इतरपक्ष भने सभापतिका पछिल्ला निर्णयको विरुद्धमा थप रणनिति बनाउन बिहानैदेखि आन्तरिक छलफलमा जुटेको छ । प्रवक्ता शर्माले भने सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरेको बताउनुभयो । प्रवक्ता शर्माले प्रचार विभाग बाहेक अन्य विभागले पूर्णता पाए केन्द्रीय समितिले आवश्यकता ठानेमा थप विभागहरु गठन गर्ने जानकारी दिनुभयो ।  


प्रतिक्रिया