संक्रमण बढी देखिएका स्थानमा थप कडाई गर्ने सरकारको तयारी

श्रावण २६, २०७७ | काठमाडौं

सरकारले कोरोना संक्रमणको महामारी बढि भएका स्थानमा थप कडाई गर्ने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रस्तावका आधारमा सरकारले संक्रमण फैलिएका क्षेत्रमा कडाई गर्न लागेको हो । 

अपरान्ह ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले त्यसको औपचारिक निर्णय गर्ने संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । सीसीएमसीले सार्वजनिक यातायात बन्द गर्ने सहित हवाई सेवा तत्काल नखोल्ने, कार्यालयहरु आधा कर्मचारी राखेर सञ्चालन गर्ने, सभा, सम्मेलनमा रोक लगाउने, अत्यावश्यक बाहेकका पसल बन्द गर्ने लगायतका प्रस्ताव गरेको छ । 

मन्त्री भट्टराईले भन्नुभयो, 'फेरी लकडाउन नै नभए पनि संक्रमण देखिएको क्षेत्रमा कडाई हुन्छ । अनावश्यक चहल पहल रोक्दै संक्रमण नियन्त्रणका लागि सरकारले विशेष निर्णय लिनेछ ।'

राजधानी काठमाडौं सहित मुलुकका बिभिन्न स्थानमा पछिल्लो समय संक्रमणको दर बृद्धि हुँदै गएपछि सीसीएमसीले कडाईको मापदण्ड तयार पारी मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । बढीमा १५ दिनको योजना सहित मन्त्रिपरिषदबाट निर्णय आउने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

सीसीएमसीले बिज्ञहरुसँग गरेको छलफलका क्रममा यथास्थितीमै महामारी नियन्त्रणमा कठिनाई हुने निष्कर्ष निस्किएपछि सरकार कडाई गर्ने अवस्थामा पुगेको हो ।

महामारी नियन्त्रणमा लिन सरकारले चैत्र ११ गते गरेको लकडाउन ४ महिनापछि साउन ६ गते खुलेको थियो । त्यसपछि पनि संक्रमणको अवस्था उकालो चढ्न थालेपछि काठमाडौं उपत्यकासहित संक्रमण फैलिएका स्थानलाई लक्षित गर्दै कडाई गर्ने निर्णयमा सरकार पुगेको हो । 

काठमाडौं उपत्यकामा मात्र पछिल्लो १० दिनमा संक्रमितको संख्या १२ सय हाराहारीमा पुगेको छ । नेपालमा हालसम्म २२ हजार ९ सय ७२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।


प्रतिक्रिया