पीसीआरको रिपोर्ट सिधै सम्बन्धित व्यक्तिलाई दिनू : स्वास्थ्य मन्त्रालय

आश्विन ११, २०७७ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्दा आउने रिपोर्ट सिधै सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन मुलुकभरका प्रयोगशालालाई निर्देशन दिएको छ । यसअघि पोजेटिभ नतिजा आएमा प्रयोगशालाले सम्बन्धित व्यक्तिलाई नदिई काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउने गरेको थियो । 

मन्त्रालयका अनुसार यसअघि स्वास्थ्य संस्थामै आइशोलेशनमा राखिने भएकोले पोजेटिभ रिपोर्ट महाशाखामा उपलब्ध गराउन भनिएकोमा पछिल्लो समय होम आइसोलेशनको पनि व्यवस्था गरिएकोले रिपोर्ट सिधै संक्रमितलाई वा उसका परिवारलाई दिन भनिएको हो ।

यसैबीच निजी मेडिकल कलेजले पीसीआर परीक्षण गरेर मात्र परीक्षामा सहभागी गराउने भनि गरेको निर्णयमा वैज्ञानिक आधार नभएको भन्दै सरकारले सो निर्णय कार्यन्वयन नगर्न आग्रह गरेको छ । पछिल्लो समय निजी मेडिकल कलेजले परीक्षामा सहभागी हुन पीसीआर परिक्षण अनिवार्य गरेपछि मन्त्रालयले निजी कलेजहरुलाई सो आग्रह गरेको हो । 


प्रतिक्रिया