आलोचनाको घेरामा प्रधानमन्त्रीको जवाफ

असार ५, २०७७ | काठमाडौं

एउटा मानिसले कतिवटा विषयमा विज्ञता हासिल गर्न सक्ला ? कुनै पनि विषयमा विज्ञता सितिमिति प्राप्त हुँदैन । तर, मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्ने हो भने उहाँलाई थाहा नभएको कुनै विषय छैन । 

कुराकानीलाई रोचक प्रस्तुति दिन उखान टुक्का मिसाउने मात्र हैन सन्दर्भ र विषयलाई आफू अनुकूल बनाउन पनि उहाँले वैकल्पिक तथ्यहरु प्रस्तुत गर्न छुटाउनु हुन्न । मौसमदेखि गैंडासम्म, जमिनदेखि आकाशम्मका विषय उहाँको विज्ञताभित्र अटाइसकेका छन् । त्यसैले उहाँले बिहीबारको राष्ट्रियसभाको बैठकमा भनिदिनु भयो, ‘कोरोना सामान्य रुघा खोकीजस्तो हो । यसलाई हाछ्यूँ गरेर र तातोपानी खाएर भगाउन पर्छ ।’

कोरोनाबाट डराउन हुन्न भन्नका लागि प्रधानमन्त्रीको भनाइ अचुक अस्त्र होला । सामान्य नागरिकका लागि भने झन् डरमर्दो । यति सजिलै संक्रमणबाट पार पाइने भए लकडाउन र अर्बौं किन खर्चियो भनेर उनीहरु हिजैबाट घोत्लिएका छन् । तर, यसको दुईतुक जवाफ छैन ।

विज्ञहरु भन्छन्, ‘अज्ञानता परम आनन्द हो । तर, तथ्यलाई अस्वीकार गर्नुचाहिँ खतराको संकेत हो । प्रधानमन्त्री ओलीका हकमा दुबै लागू हुन्छ । उहाँ आफू प्रतिकुल हुने विषयलाई अस्वीकार गर्नु हुन्छ र अनुकूलताका कुरामा आनन्दित हुन रुचाउनु हुन्छ ।

बेसार पानी खाएर कोरोनाविरुद्ध लड्ने क्षमता विकास गर्ने, हिमालमा ठोक्किएर आएको चीसो हावाले नेपालीजनको रोग प्रतिरोधी क्षमता विकास गर्ने जस्ता तर्कहरु प्रधानमन्त्रीले संसदमा जवाफ सुन्न बसेका सांसदहरुलाई सुनाइसक्नु भएको छ ।

सांसदहरुले कसले प्रमाणित गरेको तथ्य हो यो ? भनेर सोध्दा उहाँले सजिलै भन्नुभयो, ‘भर्खर मैले भनें त ।’ कोरोनाको महामारीबाट जोगिन अर्बौं खर्च गरेको र ८० दिनभन्दा बढी जनतालाई घरभित्रै रहन लकडाउनको उर्दी जारी गरेको सरकार प्रमुखले कोरोना रुघाखोकी भन्दा बढी नभएको भन्दै गर्दा २२ जना सर्वसाधारणले यसैका कारण ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भईसकेको थियो ।

प्रधानमन्त्री जुनसुकै विषयमा पनि धाराप्रवाह बोल्न सक्नुहुन्छ । यो तथ्यबाट नेपाली मात्रै हैन विश्व पनि जानकार छ । तर, वाकपटुता र विज्ञता फरक कुरा हुन् । विरोधीलाई तह लगाउन फर्काएजस्तो ओठे जवाफ कोरोना महामारीले आक्रान्त भएका जनतालाई सुनाउन हुँदैन । 

सुशासन र भ्रष्टाचार विरोधी अभियानमा संलग्न युवा जमातको मन जित्न राज्य संयन्त्र र सरकारलाई उत्तरदायी बनाउन पर्छ । सेवाप्रवाहलाई चुस्त राखेमात्रै नागरिकले वाहवाही गर्छन् । महामारीका बेला सत्तापक्ष र इतर पक्ष भनी भेदभाव नगरी सिङ्गो समाजलाई एकताबद्ध बनाएर परिचालित गर्नुपर्छ भन्ने हेक्का प्रधानमन्त्रीलाई नभएको हैन । तर, भ्रामक र तथ्यहिन सूचनाको मारमा यतिबेला जनता छन् । 

दुखको कुरो त्यसको स्रोत स्वयं प्रधानमन्त्री बन्नु भएको छ । संकटको घडीमा आश्वासन दिने भनेकै सही र विश्वसनीय सूचना हो । तर, नागरिक आफ्ना अभिभावकबाटै गलत सूचनाको शिकार हुनु परेको विडम्बनायुक्त समयमा छन् ।

मुलुकका प्रधानमन्त्रीले बोल्ने कुरामा सारा जनताको ध्यान खिचिनु पर्छ । मेरा अभिभावकले आज मेरा लागि के गर्दैछन् ? मलाई आवश्यक पर्ने कुन सूचना दिन्छन् भनेर नागरिकले प्रतीक्षा गरेका समय साईनो र सम्बन्ध नरहेको र बाह्र हातको टाँगोले समेत नछुने विषयमा विज्ञता छाँट्नुको साटो विज्ञसँग छलफल गरेर जनतालाई आश्वास्त पार्ने काममा प्रधानमन्त्री लाग्नुपर्छ । प्रधानमन्त्रीको सम्बोधन असली रुपमा राष्ट्र र जनताको नाममा हुनुपर्छ नकि टेलिभिजनमा प्रसारण हुने स्ट्यान्डअप कमेडीजस्तो । 


प्रतिक्रिया