भारत, चीन र नेकपाको आन्तरिक मामिला

असार २५, २०७७ | काठमाडौं

नेपालको राजनीतिमा वैदेशिक हस्तक्षेप सबैभन्दा चल्तीको शब्द हो । अनुकूल वा प्रतिकूल दुबै अवस्थामा नेपालका राजनीतिक दलका नेतृत्वकर्ताले यसको खुबै प्रयोग गर्छन् । 

पछिल्लो समय प्रधानमन्त्री एव. नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय दूतावास सक्रिय रहेको र त्यसमा पार्टीकै नेताको सहयोग रहेको भनेर विवादास्पद अभिव्यक्ति दिएपछि पार्टी नै फुटको संघारमा पुगेको छ । 

यसअघि पनि नेकपाको यस्तै खड्गो टारेकी चिनियाँ राजदूत होउ यान्छी अहिले पनि सक्रिय छिन् । पार्टी फुटाउने र फुट्न नदिने खेलमा विदेशी हस्तक्षेप र सदाशयताले आन्तरिक राजनीति तरङ्गित हुने दुखद परिस्थितिबाट मुलुक यतिबेला गुज्रिरहेको छ । 

नेपालको अस्थिर राजनीतिको माइक्रो म्यानेजमेन्टमा भारतीय चासो निकै अघिबाटै सुनिएको हो । कहिलेकाहीँ भारतले चाहिने भन्दा बढी हस्तक्षेप गर्‍यो । अरुबेला नेपाली राजनीतिक दलले उसलाई खेल्नका लागि खुला आमन्त्रण गरे टाइम र स्पेश दिएर । बिस्तारै यो क्रम दक्षिणबाट उत्तरतिर सर्न थालेको छ । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचाराको सम्बन्ध मात्रै छैन बेलाबेला प्रशिक्षण पनि उतैको नीति अनुसार हुने गरेको कसै सामू छिपेको छैन । तर, पार्टीको आन्तरिक मामिला सुल्झाउन कुनै अमुक देशको राजदूत सक्रिय हुनु कूटनीतिक र राजनीतिक मर्यादाभित्र पर्छ र ? कदापि पर्दैन । चाहिने भन्दा धेरै खेल्न खोजेकाले नै नेपाल र भारतबीच पछिल्लो समय दूरी बढ्दै गएको सन्दर्भमा चीनमा हस्तक्षेपकारी उपस्थिति पनि स्वीकार्य हुन सक्दैन ।

गणतन्त्र स्थापनापछि नेपालले छिमेकीसँग मात्रै अन्य अन्य अन्तर्राष्ट्रिय फोरमहरुमा आफ्नो बेग्लै पहिचान स्थापित गर्नुका साथै कूटनीतिक सम्बन्धमा प्रभावशाली कदमहरु पनि चाल्दै आएको छ । तर, लिम्पियाधुरा, कालपानी र लिपुलेक समेटेर तयार पारेको नयाँ राजनीतिक नक्शा र त्यसलाई निशान छापमा अद्यावधिक गर्नका लागि भएको संविधान संशोधनपछि भारतसँगको सीमा विवादले नयाँ मोड लिएको छ । यो मोड अहिले सम्वादहिनतामा अड्किएको छ ।

यस्तोमा आफूलाई हटाउन भारतीय दूतावास सक्रिय भएको र त्यसमा आफ्नै पार्टी नेकपाका नेताहरुनै संलग्न भएको भन्ने टिप्पणी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट आएपछि अहिले उहाँ भारतीय सञ्चार माध्यमको तारो बन्नु भएको छ । यसमा पछिल्लो समय नेकपाको आन्तरिक विवाद मिलाउनका लागि सक्रिय चिनियाँ राजदूत होउ यान्छीको क्रियाकलापले आगोमा घ्यू थप्ने काम गरेको छ । भारतीय सञ्चार माध्यमले भ्रामक र तथ्यहीन समाचार सामग्री प्रसारण गरेर प्रधानमन्त्री ओलीको आरोपलाई सही सावित गर्ने काम गरेका हुन् कि भन्ने भान परेको छ ।

तर, यसको अर्थ नेकपाको विवाद मिलानमा चिनियाँ चासो सही हो भन्ने किमार्थ हैन । यसअघि बैशाखको मध्यतिर पनि झण्डै फुटको संघारमा पुगेको नेकपाको आन्तरिक कलह मिलाउन राजदूत यान्छीको दौडधुप उत्तिकै थियो । यसबारे नेकपाका नेताहरुले अझै औपचारिक धारणा सार्वजनिक नगर्नुलाई रहस्यमय मानिएको छ । 

नेपाली राजनीतिमा आफू प्रतिकूल कदम चाल्नेहरुलाई विदेशीको हितमा काम गर्ने भनेर आरोप लगाउने चलन पुरानै हो । प्रधानमन्त्रीले आफूलाई हटाउन भारतीय पक्ष सक्रिय रहेको भन्ने आरोप लगाउँदा होस् या पार्टी फुट्न नदिन चिनियाँ राजदूतको सक्रियताका बारेको सवाल दुबैमा नेकपा मौन रहेको छ । लामो मौनताले दुबैमा उसले स्वीकृति जनाएको अर्थ पनि लाग्न थालेको छ ।

ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री एक रोज्न दवाव नेकपाकै नेताहरुले दिएका हुन् । उहाँलाई सत्तामै राख्ने वा अरू कसैले विस्थापित गर्ने भन्ने कुरा नेकपाको आन्तरिक जोडघटाउ र भावी निर्णयको नितान्त आन्तरिक मामिला हो । 

तर, यसबाट मुलुकमा पुन: राजनीतिक अस्थिरता छाउने, अवैधानिक कदम चाल्ने वा वैदेशिक हस्तक्षेपलाई खुला आमन्त्रण गर्ने अवस्था आउन दिनु चाहिं बुद्धिमत्तापूर्ण कार्य हैन । नेपालका राजनीतिक दलहरु फुटाउन सक्रिय भएको भन्ने आरोप लागेको भारतीय पक्षको आलोचना पार्टी फुट्न नदिन चिनियाँ पक्षले देखाएको सदाशयताको स्वागत कुनै पनि कोणबाट हुन सक्दैन । 


प्रतिक्रिया