इपिसेन्टर उन्मुख काठमाडौं

असार २८, २०७७ | काठमाडौं

जनस्वास्थ्य विज्ञका अनुसार नेपालमा कोरोना संक्रमण अझै समुदाय स्तरमा फैलिसकेको छैन । त्यसलाई त्यतिमै सीमित पार्न ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको मात्रा बढाउनुपर्छ । नमूना परीक्षण पनि उत्तिकै गरिनुपर्छ । तर, पछिल्लो समय कोरोना संक्रमितको संख्या कम देखाउन परीक्षण पनि कम गर्न थालिएको छ । 

उपत्यकामा पछिल्लो समय बढेको संक्रमितको संख्या पनि यसै कारण घट्न थालेको छ । तर, संक्रमणको खतरा भित्रभित्रै भुसको आगोझैं सल्किएको त छैन सोच्ने बेला भइसकेको छ । परीक्षण बढाएर १५ हजार पुर्‍याउने सरकारको दाबी आइतबार झण्डै ४ हजार परीक्षण गरेबाट झुटो सावित भइसकेको छ ।

मुलुकमा अबको केही सातामै कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै गरेको हो । तर, संक्रमणसित जुध्ने तयारी अझै हुन सकेको छैन । संक्रमितमध्ये ५ प्रतिशतलाई मात्र आईसीयू र भेन्टिलेटर आवश्यक पर्‍यो भने पनि अहिलेको पूर्वाधारले नधान्ने अवस्था छ ।

अझ संक्रमणको जोखिमका हिसाबले मुलुककै सबैभन्दा बढी जनघनत्व भएको काठमाडौं उपत्यका नै हो । अन्य जिल्ला र विदेशबाट आउने क्रम सुरु भएसँगै काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ । देशका १५ प्रतिशत भन्दा बढी अर्थात् हरेक ६ मध्ये एक नागरिक काठमाडौं उपत्यकामा बसोबास गर्छन । 

काठमाडौं उपत्यका कदाचित ‘हटस्पट’ बन्न पुग्यो भने संक्रमण नियन्त्रणमा ल्याउन मुस्किल पर्छ । कतिपय स्थानमा ट्राभल हिस्ट्री नै नभएकालाई पनि संक्रमण देखिएकाले नमुना परीक्षणको दायरा बढाउनुको विकल्प छैन । संक्रमितको सम्पर्कमा आएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणलाई तीब्र बनाइनुपर्छ । र, नतिजा नआउन्जेल उनीहरूको निगरानी पनि उत्तिकै जरुरी छ ।

यतिबेला लकडाउन खुकुलो भएसँगै संक्रमण फैलन नदिन अपनाउनुपर्ने साधारण सतकर्तामा पनि नागरिकले खुकुलोपन अपनाउन थालेका छन् । मास्क नलगाउने, भिडभाड गर्ने, बिहेभोज गर्ने, पसल, कार्यालय सहितका सार्वजनिक स्थलमा बिनाभौतिक दूरी जम्मा हुने क्रम बढ्दै गएको छ । यसले अहिले सुस्त देखिएको र एकाधजनामा फैलिएको संक्रमण आउने दिनमा अनियन्त्रित रूपमा ह्वात्तै बढ्ने जोखिम बढाएको छ । 

लकडाउन खुकुलो बनाउनुको अर्थ सतर्कता नअपनाए पनि हुने हो भन्ने आमबुझाइ नै संक्रमण बढाउने मुख्य कारण बन्ने खतरा छ । ढलको पानीमा समेत कोरोना देखिएपछि जुन हिसाबले नमूना परीक्षण बिस्तार गरिनुपथ्र्यो त्यो त हुन सकेको छैन नै उल्टै परीक्षणको संख्या नै घटाउन थालिएको छ । हाम्रो जस्तो कमजोर स्वास्थ्य संरचना भएको मुलुकमा काठमाडौं जस्तो घना बस्ती नयाँ इपिसेन्टरका रूपमा विकास भयो भने कतिको भयावह स्थिति उत्पन्न होला भनेर सजिलै अनुमान गर्नै सकिन्छ ।

संक्रमण फैलन नदिनु सरकार मात्र होइन, संक्रमित व्यक्ति र हरेक नागरिकको पनि दायित्व हो । यस्तोमा काठमाडौंबासी महामारी प्रति धेरै सचेत नदेखिनु उत्तिकै उदेकलाग्दो पक्ष छ । अनावश्यक भिडभाड गर्नेदेखि मास्क नलगाई यात्रा गरेका दृश्य कैयौं सामान्य हुन थालेका छन् । 

सरकारले मास्क नलगाउनेलाई कारबाही गर्ने भने पनि त्यसलाई अटेर गर्नेहरु कम छैनन् । सबैभन्दा बिडम्बना त के भने समाजका सचेत भनिएकै तह–तप्काबाट यस्ता गतिविधि भइरहेका छन् । भिडभाड नगर्नुपर्ने समयमा प्रधानमन्त्रीको समर्थनमा जुलुस निकालिंदा समेत प्रहरी प्रशासन चुप लागेर बस्नुपर्ने अवस्था सिर्जना हुनु आफैंमा दुखद हो ।

आफैं सचेत नभएसम्म र संक्रमणको जोखिमका बारेमा बेपरवाह भएसम्म यो स्थिति अन्त्य हुनेवाला छैन । अरु देशको अनुभवबाट पनि काठमाडौंबासीले धेरै सिक्न जरुरी छ । कारण कडा नीति बनाएर कसैको नियत परिवर्तन गर्न पनि त सकिंदैन ।  


प्रतिक्रिया