भएर पनि नभएजस्तो सरकार !

भाद्र १०, २०७७ | काठमाडौं

सरकार के हो ? केही थान मन्त्रीहरुले गाडीमा राष्ट्रिय झण्डा हल्लाएर हिँड्ने चाँजोपाँजो मिलाउने संयन्त्र मात्रै त सरकार पक्कै हैन । यो त विश्वास हो । केही गाह्रो साह्रो पर्दा हेर्ने कोही छ भनेर जनताको मनमा गढेर बसेको भरोसा पनि हो सरकार । जुन पछिल्लो कालमा कोरोना संक्रमण नियन्त्रणमा बेहोरेको असफलतासँगै विस्तारै जनताको मनबाट पनि उठ्न थालिसकेको छ । 

अब के हुन्छ ? यसको दुई तुक उत्तर नपाउँदा नागरिकमा अनिश्चिततासँगै निराशा व्याप्त हुन थालेको छ । अझ सरकारको अन्यमनस्क कृयाकलापले त्यसमा थप पिरलो थोपरिदिएको छ । कारण कोरोना कहरले गर्दा कतै उज्यालो देख्न नपाएका जनतालाई बाटो देखाउनुपर्ने सरकार आफैं अलमलिएको छ । 

विश्वमै बढी लकडाउन झेल्नेमा परिसकेका नागरिकलाई बाटो देखाउनुको साटो सरकार निषेधाज्ञा थप्ने भन्दा अरुमा सक्रिय देखिएको छैन । जनतालाई घरभित्रै कैद गरि दिएपछि कोरोना नियन्त्रण भैहाल्छ भन्ने सोच सरकारको छ ।

यदि यसो हुँदो हो त यसअघि तीन महिना बढी लकडाउन गर्दा मुलुकबाट कोरोना भागिसक्नु पथ्र्यो । जनतालाई घरमै थुन्नु भनेको कोरोनासँग लड्नका लागि उपलब्ध हुने समयमै पूर्ण तयारी सक्नु हो । तर, तिमी घर बस र त्यतिञ्जेल हामी यो यो काम गर्छौं भनेर जनतालाई आश्वास्त पार्ने आवश्यकता नदेखेको सरकारले निषेधाज्ञालाई निर्विकल्प अस्त्रको रुपमा प्रयोग गर्दै आएको छ । यसले कोरोनाको महाव्याधि नियन्त्रण हुनु त कता हो कता बरु मुलुकको अर्थतन्त्र चौपट भएर सर्वसाधारणको दैनिकी अस्तव्यस्त भएर अर्को सङ्कट चुलिन थालिसकेको छ ।

जनतासँगै सरकार पनि घरभित्रै बस्ने परिपाटीको अन्त्य नभएसम्म निषेधाज्ञाको जति संस्करण चलाए पनि सफलता हात लाग्दैन । मास्कको प्रयोग, व्यक्तिगत दूरी कायम, हात धुने र अनावश्यक काममा बाहिर ननिस्कने दायित्व नागरिकले पूरा गर्न पर्छ । 

सरकारले पनि सोही समयमा परीक्षणको दर र दायरा बढाउनुका साथै कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता र संक्रमितको उचित उपचार प्रबन्ध मिलाउन सके मात्रै कोरोना नियन्त्रणमा आउन सक्छ । सरकार मूल दायित्वबाट विमुख भएपछि नागरिकले पनि लापरबाही गर्न छाडेका छैनन् ।

अस्पतालमा चाप बढेसँगै बेड अभाव हुन थालिसकेको छ । यस्तोमा होम आईसोलेसनमा बस्न सरकारले सुझाएको छ । तर, एउटा कोठामा डेरा गरी बस्नेसँग यो सुविधा छैन । अझ, भाडावाल संक्रमित भए घरबेटीले गर्ने दुर्व्यवहार र छि:छि: दूरदूरको त कुरै नगरौं । कोरोना संक्रमणको दुष्चक्रमा जो कोही पनि फस्न सक्छ । र, संक्रमितलाई हेयका दृष्टिले हेर्न हुन्न भन्ने भावना नागरिकमा अझै जगाउन सकिएको छैन ।

यो सब मुद्दाको सम्बोधनका लागि तीनै तहका सरकारसँग विस्तृत कार्ययोजनासँगै दृढ इच्छाशक्ति पनि हुन जरुरी छ । कागजमा सबै कार्ययोजनाहरु भए पनि ती व्यवहारमा लागू भएनन् भने अर्थ रहन्न । निषेधाज्ञा जारी गर्न मात्रै स्थानीय सरकार आवश्यक पर्ने हो र नागरिकलाई सचेत र सजग गर्न संघीय सरकारकै मुख ताक्नु पर्ने हो भने गाउँगाउँमा पुगेको सिंहदरबारको पनि के अर्थ ?

महाव्याधिसँग जुध्नका लागि गर्नुपर्ने काम चाहिं नगर्ने तर एकपछि अर्को निषेधाज्ञा मात्रै थपिरहने हो भने कवि अर्जुन पराजुलीले लेखेजस्तै

सरकार छैन भनौं

कर्फ्यु छ

सरकार छ भनौं

कर्फ्यु बाहेक केही छैन......

यो भन्दा पृथक अवस्था अहिले मुलुकको छैन ।  


प्रतिक्रिया