'कोरोना महामारीमा पनि निर्धक्क खटिएका सुरक्षाकर्मीको आत्मबल बढाउ'

भाद्र २९, २०७७ | काठमाडौं

मुलुकमा अकस्मात आइपर्ने महामारी, विपद् होस् या हूलदङ्गा सबै नियन्त्रणको नेतृत्व लिँदै आम–नागरिकलाई सुरक्षाको पूर्ण–प्रत्याभूति दिलाउने जिम्मेवारी हो सुरक्षा निकायको । अप्रत्याशित घटनाक्रममा पनि जोखिम मोल्न तयार हुनुपर्ने उनीहरुको नियति नै हो । यसपालिको कोभिड–१९ विरुद्धको युद्धमा होमिएका सुरक्षाकर्मी यस्तै आपतविपद् र शान्ति सुरक्षामा खटिएकै बेलामा संक्रमणको शिकार भएका छन् ।

हालसम्म चार सुरक्षा निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीमा संक्रमित छन् । सर्वसाधारणसँग प्रत्यक्ष साक्षात्कार हुने भएकाले पनि प्रहरी बढी प्रभावित भएका हुन् । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले नागरिकलाई घरभित्र राखेर सुरक्षाकर्मीलाई बाटोमा परिचालन गर्ने रणनीति अख्तियार गरेको थियो । यसैको असरले होला मुलुकभर कोरोना संक्रमण दर बढिरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव सुरक्षा निकायमा देखिएको छ ।

सुरक्षा निकायमध्ये पनि नेपाल प्रहरीमा बढी संक्रमण देखिएको छ । केही उपचारकै क्रममा छन् । केही संक्रमण मुक्त भएर नियमित ड्युटीमा फर्किसकेका छन् । उनीहरू उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् । कोरोना संक्रमणलाई जितेर नियमित ड्यिुटीमा फर्किएका प्रहरी मध्ये एक हुन्, प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरे । रजौरे अहिले प्रहरी प्रधान कार्यालयको कोभिड–१९ समन्वयन इकाइमा कार्यरत छन् । कोरोना संक्रमण पुष्टि भइसकेपछि एकछिन त मन कटक्क भएको अनुभव सुनाउँछन् रजौरे ।

उनी भन्छन्, ‘कोरोना संक्रमणबाट केही हुँदैन भन्ने थियो नै, सबैले स्नेह र माया गरे ।’ संगठनबाट पनि सहयोग र माया पाएको उनले सुनाए । त्यसैले कोरोनालाई सहजै जित्न सफल भएको रजौरे सुनाउँछन् । सामाजिक रूपमा कोरोना संक्रमितलाई गरिएको व्यवहारलाई चिर्नका लागि संगठनको स्वीकृतिमा सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको सबै जानकारी गराएका थिए रजौरेले । कोभिड–१९ विरुद्धको लडाइँमा सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरु फ्रन्टलाइनमा खटिए । यिनै फ्रन्टलाइनरहरु संक्रमणको जोखिममा पर्नु अस्वभाविक हैन ।

भक्तपुरमा कार्यरत एक जना प्रहरी जवान पनि संक्रमण मुक्त भएर नियमित काममा फर्किएका छन् । राष्ट्र र नागरिक सुरक्षाको कसम खाई प्रहरीमा होमिएका ती जवान आफ्नो ज्यानको बाजी लगाएर अहिले जनताको सुरक्षामा खटिएका छन् । यस्तै आइसोलेसनमा बसेर उपचार गराईरहेका कोरोना संक्रममित अर्का प्रहरी जवान छिटै संक्रमण मुक्त भएर देश र जनताको सुरक्षामा खटिने बताउँछन् ।

आइसोलेसनमा बस्दा पनि उनमा जोश, जाँगर र राष्ट्रसेवाको भावना पहिले भन्दा घटेको छैन । काममा खटिदा संक्रमित हुनुपरेको ग्लानी उनलाई छैन । उनी ललिपुरमा कार्यरत छन् । प्रहरीका यी कर्मचारीहरु उदाहरण मात्र हुन् । यसरी जोखिमकाबीच नागरिकको सुरक्षा र सहजीकरणका लागि उनीहरु संक्रमित भएका हुन । जागिर खानुअघि नै जुनसुकै समय र परिस्थितिका लागि पनि तयार रहने संकल्प गरेकाले पनि यसलाई कर्तव्यपरायणको रुपमा मात्रै लिनु पर्ने सुरक्षा निकाय बताउँछ ।

महामारीमा आफ्नो जिम्मेवारी र कर्तव्य पालनमा प्रहरी चुक्न नहुने बताउँछन् काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली । नागरिको सुरक्षाको दायित्वका अगाडि आफूलाई जोखिममा राख्नुको विकल्प नरहेको बताउँछन् महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल । त्यसैले कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल गिर्न दिन हुन्न । अहिले एकातिर कोरोनाको चिन्ता छ भने अर्को तिर आफ्नै सुरक्षाको चिन्ता त्यसैले सुरक्षाकर्मीको आत्मबल उच्च पार्नेतर्फ सबैले आ–आफ्नो स्थानबाट सकेको जति गर्नु नै अहिलेको प्राथमिकता हो । 


प्रतिक्रिया