गणतन्त्रको ऐँजेरु बन्दै सरकारी निर्णय

भाद्र ३१, २०७७ | काठमाडौं

संयोग कस्तो पर्‍यो भने, एउटै मान्छेले कतिफरक पार्न सक्छ भन्ने उदाहरण बनेका कुलमान घिसिङको बहिर्गमन र हालसालै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका युवराज खतिवडाको बालुवाटार प्रवेशको निर्णय सार्वजनिक एकैदिन भयो । 

दुबै व्यक्ति कसै न कसैलाई नभइ नहुने । कुलमान जनताका प्यारा र युवराज प्रधानमन्त्रीका शायद कमजोरी । भौतिकवादले कुनै पनि चिजबिज निर्विकल्प हुन्न भन्छ । तर, आफूलाई भौतिकवादी भन्नेहरु आफ्ना भक्तहरुलाई कुनै पनि पदका लागि सुयोग्य र निर्विकल्प देख्छन् भन्ने मान्यता पछिल्लो समय सरकार स्वयंले स्थापित गर्न थालेको छ ।

साढे २ वर्षअघि अर्थमन्त्री बन्दा खतिवडाप्रति आशावादी रहेकाहरु पनि उहाँको बहिर्गमनमा दुखी हुन परेन । अलमलिएको अर्थतन्त्रलाई कमान्ड गर्न नसकेको अपजस मात्रै हैन शास्त्रीय ज्ञानले मात्रै मुलुकको अर्थतन्त्रले स्पष्ट कार्यदिशा समेत लिन सक्दैन भन्ने लिगेसी खतिवडाले स्थापित गर्नुभयो । तैपनि उहाँको अनुपस्थितिले सरकार चल्न नसक्ने जस्तो गरी प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारकै रुपमा भएपनि शक्तिमा स्थापित गर्ने काम भएको छ ।

अर्कोतिर उज्यालो नेपालको सपनालाई साकार पार्ने कुलमान जनताको चाहनाका बाबजुद दोस्रो कार्यकालका लागि योग्य ठहरिनु भएन । राम्रो हेर्ने कि हाम्रो ? भन्नेमा सरकारले आँखा चिम्लिएरै हाम्रो रोज्यो । विधि प्रकृयाहरुले कुलमानको पुनर्नियुक्तिमा बाधा पर्ने भएपनि त्यसबारे कुनै जानकारी नगराई सामाजिक सञ्जालले नियुक्त गरेको कुलमानबारे सरकारलाई थाहा हुन्न भन्ने टर्रो जवाफ सरकारका प्रवक्ताले दिए । यसले जनभावनामा कुठाराघात गर्‍यो । हुन त प्रतिनिधिसभा निर्वाचनमा पराजित नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिश गर्ने निर्णय गरेर सरकारले जनभावना र जनमतको हुर्मत त लिइसकेकै छ ।

यस्ता अलोकप्रिय निर्णय गरेर झण्डै दुई तिहाइको सरकारले दिन खोजेको सन्देश सिधा छ– तिमीहरु जेसुकै भन हाम्रा मान्छेलाई नै सरकारले काखी च्याप्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपालको आलोकको क्षयीकरण यस्तै निर्णयहरुका कारण अवश्यम्भावी छ ।

भन्नेहरुले त एउटै व्यक्तिलाई मात्रै पद किन समेत भने । तर, कसैका सम्धीलाई ७ पटकसम्म लाभको पद, चुनाव हारेकाहरुलाई जस्केलाबाट स्थायी प्रकृतिको व्यवस्थापकीय अंगमा प्रवेश, सरकारी जागिर सकिनासाथ अर्को नियुक्ति दिन मिल्ने देशमा कुलमानको दोस्रो कार्यकाल तर्कसङ्गत भएन । 

राजनीतिक नेतृत्वलाई रिझाउन सक्दैनौं भने तिमी उच्च पदमा कायम रहन सक्दैनौं भन्ने सनेस सरकारले दिएको छ । र, जसले राजनीतिक नेतृत्वलाई रिझाए उनीहरुलाई माखो नमारी पदबाट बाहिरिने छुट छ । अहिले कुलमानको पक्षमा देखिएका जनता उज्यालो प्राप्ति पछिको आभार प्रकट गर्न मात्रै सडकमा ओर्लिएका हैनन् । राजनीतिक मूल्य र मान्यता विपरीत भैरहेका पछिल्ला निर्णय अनि सरकारी कार्यशैलीको वितृष्णाले धकेलिएर सडकसम्म ल्याइ पुर्‍याइएका हुन् । 

आफ्नालाई मात्रै च्याप्दा २ शताब्दी लामो इतिहास बोकेको राजतन्त्र सकिएर गणतन्त्र शुरुवात भयो । र, राजनीतिक परिवर्तनपछि नैतिकताको खडेरी परेको अवस्थामा नवराजतन्त्र उन्मुख राजनीतिलाई बेलैमा नैतिकताको लिकमा ल्याउन सकिएन भने वर्तमान व्यवस्था गणतन्त्रको ऐँजेरु बन्न बेर छैन । 


प्रतिक्रिया