स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै आन्तरिक उडान शुरु

आश्विन ५, २०७७ | काठमाडौं

लामो समय बन्द भएको आन्तरिक हवाई उडान आज शूरु भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले स्वास्थ्य सुरक्षा मापदण्ड निर्धारण गरी आजदेखि उडानका लागि अनुमति दिएपछि आन्तरिक उडान शुरु भएको हो । विभिन्न ९ वटा वायु सेवा कम्पनीका आज ५३ उडान तोकिएको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि भन्दै लकडाउन, निषेधाज्ञा लगायतका कारण ६ महिनादेखि रोकिएको आन्तरिक उडान आजबाट सञ्चालनमा आएको छ । नागरिक उड्ययन प्राधिकरणले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न ९ वटा वायु सेवा कम्पनीले सेवा पुन:शुरु गरेका हुन् । प्राधिकरणले सेप्टेम्बर महिनामा २५ देखि ३० प्रतिशत मात्र फ्लाइट गर्न अनुमति दिएको छ । सबैभन्दा ठूलो सञ्जाल भएको नीजि क्षेत्रको बुद्ध एयरले आज १८ वटा फ्लाइट भरेको जनाएको छ । बुद्ध एयरका व्यापार निर्देशक रुपेश जोशीले प्राधिकरणले तोकेको मापदण्ड अनुरुप नै हरेक वायु सेवा कम्पनीले सेवा दिइरहेको बताउनुभयो ।

यति एयरलाइन्सलाई प्राधिकरणले सेप्टेम्बर ३१ सम्म दैनिक ११ वटा फ्लाइटको स्विकृति दिएको छ । यतिले भने आज १० वटा मात्र फ्लाइट भर्‍यो । तर, यति हुँदा पनि लामो समयपछि उडान भर्न पाएकाले वायु सेवा प्रदायकहरु हौसिएका छन् । आधा सिट क्षमतामा मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्थालाई सच्याएर पूर्ण क्षमतामै उडाउन भर्न पाएपछि उनीहरुमा उत्साह थपिएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला कुल सिट क्षमताको ७५ प्रतिशत यात्रुले यात्रा गर्दा पनि आफूहरुमा हौसला बढेको बताउनुभयो ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले दुर्गम क्षेत्रमा सेवा प्रवाह गर्ने दायित्व पाएको छ । त्यसो त नियमित उडान हुने समयमा पनि नीजि विमान कम्पनीले सेवा नदिएका स्थानमा नेपाल वायु सेवा निगमकै जहाज उड्ने गथ्र्यो । निगमले आज एउटा मात्र उडान भरेको छ । दुर्गम क्षेत्रमा मात्र उडान गर्ने निर्णय गरेसंगै दिनको एउटा, दुईटा गरेर हप्तामा १५ वटा उडान भर्ने निगमका प्रवक्ता अर्चना खड्काले बताउनुभयो ।

नागरिक उड्डयन प्राधिकरणले यात्रुलाई आफैंले पनि स्वास्थ्य मापदण्ड अपनाएर यात्रा गर्न आग्रह गरेको छ । हाललाई ३० प्रतिशत उडान अनुमति दिइएपनि यात्रुको चाप अनुसार उडान संख्या बढाउन सकिने प्राधिकरणको भनाई छ । अझ नजिकिंदै गरेको चाडबाडका समयमा उडानहरुको थप माग हुनेमा कुनै द्विविधा छैन । प्राधिकरणका उप महानिर्देशक राज कुमार क्षेत्री यात्रुको चाप बढ्दै गए आवश्यकता अनुसार उडानको संख्या बढाउन सक्ने बताउनुभयो ।

परिस्थिति सहज नरहेकाले यात्रुले अब यात्रा गर्दा विभिन्न स्वास्थ्य सम्बन्धित प्रोटोकलहरु पालना गर्नु पर्नेछ । विमानस्थलमा यात्रुको तापक्रम अनिवार्य जाँच हुँदा मास्क अनिवार्य गरिएको छ । बोर्डिङ पास लिनु पूर्व आफू स्वस्थ रहेको फारम भर्नु पर्नेछ । हेल्थ डिक्लिरियसन फर्म भरेर टिकट काउण्टरमा बुझाएपछि मात्र बोर्डिङ पास पाउने व्यवस्था गरिएको छ । उडान अवधिभर यात्रुलाई फेस शिल्डको प्रयोग अनिवार्य गरिएको छ । त्यसैगरी यसअघि विमानभित्र प्राप्त हुने पत्रपत्रिका, खाजा, पानी, शौचालय लगायतका सुविधामाथि हाललाई रोक लगाइएको छ । आन्तरिक उडान शुरु भएसंगै सर्वसाधारणलाई पनि यात्रामा केही सहज हुनेछ । यो सहजतालाई न्यू नर्मलअघि कै अवस्थामा लैजानका लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालनाको विकल्प छैन ।  


प्रतिक्रिया