मेलबर्नका ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि

असार २५, २०७७ | अष्ट्रेलिया

अष्ट्रेलियाको मेलबर्नमा ४ जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये तीनजना एकै स्थानमा बस्ने र अर्का एकजना उनीहरु भन्दा अलग बस्दै आएका विद्यार्थी हुन् ।

अष्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दाहालले दिएको जानकारी अनुसार एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्य विद्यार्थीको परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण देखिएको हो । 

भाइरसको संक्रमण देखिएपनि उनीहरुको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहेका छन् । संक्रमण देखिएका विद्यार्थी मेलबर्नमा पछिल्लो समय भाइरस संक्रमण देखिएको क्षेत्र ग्लेनरोयका हुन् । उनीहरु अहिले आफ्नै घरमा आइसोलेसनमा रहेका छन् ।

मेलबर्नमा बस्दै आएका एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले ४ जनाको पुष्टि भएपनि थप दुई जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अलग बस्ने भाईलाई संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ५ जना साथीले परीक्षण गरेकोमा तीन जनामा संक्रमण पुष्टि भएको र दुईको नतिजा आउन बाँकी छ ।’

उहाँले एनआरएनएको तर्फबाट संक्रमित विद्यार्थीलाई आवश्यक सहयोग पुर्‍याउने पनि जानकारी दिनुभयो । अष्ट्रेलियाको सिड्नी, तास्मानिया र मेलबर्नमा रहेका १० जना नेपालीमा केही महिनाअघि भाइरस संक्रमण देखिएको भएपनि उनीहरु सबै निको भएर नियमित काममा फर्किसकेका छन् ।

मेलबर्नमा पछिल्लो समयमा संक्रमणका बिरामी धेरै बढेपछि राज्य सरकारले सो क्षेत्रका ३६ गाउँका साथै मेलबर्न शहर र आसपासका केही क्षेत्रलाई ६ साताका लागि लकडाउन गरेको छ । मेलबर्नमा बिहीबार मात्र १ सय ६५ जनामा भाइरसको संक्रमण देखिएको छ । 


प्रतिक्रिया