विभिन्न मुलुकमा अलपत्र २६ हजार बढी नेपालीको उद्धार

असार २७, २०७७ | काठमाण्डौं

सरकारले विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरेको छ । विभिन्न एयरलाइन्सका एक सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्धार गरिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले उल्लेख गरेको छ । 

 आज मात्रै विभिन्न मुलुकबाट १ हजार ३ सय ८१ जना स्वदेश फर्किएका छन् । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार भएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी धेरै ५ हजार २ सय ४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८ सय ८४ जनाको उद्धार गरिएको हो । यस्तै अफगानिस्तान, अष्ट्रेलिया, ओमान, म्यानमार, बेलायत, अमेरिका बहराइन लगायत २३ मुलुकबाट नेपालीको उद्धार गरिएको हो ।

यसै अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याई परिवारलाई बुझाइएको सीसीएमसीले उल्लेख गरेको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ६ जनामध्ये १ सय ४६ जनाका परिवारले विदेशमा अन्तेष्टी गर्नका लागि वैदेशिक रोजगार बोर्डसँग सहमति गरेका छन् । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी छ । यसैबीच विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत स्वदेश फर्काउने अभियान अन्तर्गत तत्कालका लागि उडान स्थगन गरिदैछ । भोलि दुईवटा उडान पश्चात केही समयका लागि उडान स्थगन गरिने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

 हालसम्मको उद्धार उडान सम्बन्धमा समिक्षा गर्नका लागि उडान स्थगन गर्न लागिएको र समिक्षा पश्चात पुन आवश्यकता अनुसार उडान भरिने प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । यद्यपी कुनै मुलुकमा उद्धार नगरी नहुने भएमा विशेष अनुमति दिइने अन्यथा कुनै पनि प्रकारका अन्तर्राष्ट्रिय चार्टर उडान नहुने क्षेत्रीले बताउनुभयो । औषधिजन्य कार्गो उडानलाई भने अनुमती दिइने छ । समिक्षा सकिएपछि फेरि उद्धार उडान गर्नुपर्ने आवश्यकता भए सरकारले निर्णय गर्ने क्षेत्रीको भनाई छ । 


प्रतिक्रिया