नारायणगढ–मुग्लिन सडकमा पहिरोले बिजोग (फोटोफिचर)

सबै तस्बिर : रमेशकुमार पौडेल/रेडियो कान्तिपुर । 

भाद्र ३०, २०७७ | चितवन

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि एम्बुलेन्समा बसेका बिरामीदेखि मालबाहक ट्रकका चालकहरुको समेत बिजोग भएको छ । बाटो खुल्ने प्रतीक्षामा बिरामी बोकेका दर्जनौं एम्बुलेन्सहरु जाममा फसेका छन् । पहिरो पन्छ्याएर बाटो खुल्ने समयको टुंगो नभएपछि ट्रक चालकहरु बटोमै स्टोभमा खाना बनाउँदै गरेको देखिन्छ ।

नारायणगढ–मुग्लिन सडकमा वर्षायाममा पहिरो कुनै नौलो समस्या हैन । ३६ किलोमिटर लम्बाइ भएको यो सडकमा कालिखोला चार किलो क्षेत्रमा ठूलो पहिरो खस्दा दुई/तीन दिनसम्म बाटो ठप्प हुन्थ्यो । तर, मंगलबार कालिखोला क्षेत्रका साथै अन्यत्र पनि पहिरो खसेको छ । नारायणगढबाट मुग्लिनतर्फ बढ्दा भतेरीदेखि नै पहिरो खस्न सुरु भएको छ । त्यस्ता स–साना पहिरो जलबिरेसम्म अनेकौं छन् । जलबिरे केटेपछि चार किलो, पाँच किलो र भालु खोलामा झनै ठूलो पहिरो खसेको छ ।

पहिरोका कारण मंगलबार दिनभर यातायात प्रभावित हुने सम्भावना सहित चितवन जिल्ला ट्राफिक कार्यालयले सोमबार राति नै सूचना जारी गरेर सो सडक प्रयोग नगर्न अपिल गरेको थियो । पहिरोका कारण गाडीहरु ठाउँ ठाउँमा अलपत्र परेका छन् । सोमबार बिहानैदेखि नारायणगढ–मुग्लिन सडकमा यातायात प्रभावित भएको थियो । सोमबार बिहान दुई ट्रक आपसमा ठोक्किंदा केहीबेर बाटो बन्द भयो । दिउँसो दुई बजे पहिरो पन्छ्याएपछि साँझ एकतर्फी सडक खुल्यो ।

राति साढे १० बजे इच्छाकाना गाउँपालिका–६ चार किलो नजिक फेरि ठूलो पहिरो खसेपछि बाटो ठप्प भयो । राति चार किलोसहित अनेकौं ठाउँमा पहिरो जाँदा सफा गर्न समस्या भइरहेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले पहिरो पन्छ्याउने काम जारी नै रहेका कारण आज साँझसम्म एकतर्फी भएपनि सडक खुल्ने बताउनुभयो ।देशको राजधानी काठमाडौंलाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गमा वर्षायाममा पहिरो जाँदा चार पाँच वर्षयता यात्रा निकै सकसपूर्ण हुने गरेको छ ।


प्रतिक्रिया