चीनको रेल लुम्बिनी, भारतको रेल काठमाडौं सम्म : अध्यक्ष दाहाल

आश्विन ५, २०७४ | कपिलवस्तु

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले छिट्टै चीनबाट लुम्बिनी र भारतबाट काठमाडौं सम्म रेल पुग्ने बताउनु भएको छ । कपिलवस्तुमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले मधेश, पहाड र हिमालको आर्थिक उन्नतीका लागि चीन र भारतबाट आउने रेलले महत्वपुर्ण भूमिका खेल्ने बताउनु भएको हो । उहाँले दुवै देशका सरकारसंग आफनो प्रधानमन्त्री कालमा रेल सेवा ल्याउने विषयमा छलफल भएको प्रसंग उल्लेख गर्दै यसबाट मुलुक समृद्धि तर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो ।

चीनबाट केरुङ्ग हुँदै पोखरा भएर लुम्बिनी र भारतबाट कृष्णनगर नजिकको बढनी हुँदै हेटौडा भई काठमाडौंसम्म रेल पुर्‍याउने योजना रहेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भारतको बढनीबाट काठमाडौं सम्म आइपुग्ने रेलको डीपीआर बनाउने काम समेत शुरु भईसकेको भन्दै दुवै छिमेकी मुलुकसँको सम्बन्ध थप सदृढ र मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

सबै दल मिलेर स्थानीय तह निर्वाचन गरेर लोकतन्त्र मजबुत बनाउने काम गरेको भन्दै उहाले अब प्रदेश र संघको चुनाव भएपछि मात्र मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले मुलुुकै पुरानो बजार कृष्णनगरलाई स्मार्टसिटी बनाउन लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुुकको १० ठूलो भन्सार भित्र पर्ने कृष्णनगर भन्सार कार्यालयको स्तरोनन्ती गर्न पनि सरकारलाई आग्रह गर्ने बताउनुभयो । 

 


प्रतिक्रिया