कपिलवस्तुमा ६७ प्रतिशत मतदान

मंसिर २१, २०७४ | कपिलवस्तु

-  दोश्रो चरणमा आज भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कपिलवस्तुमा आज ६७ प्रतिशत मतदान भएको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाताहरु उत्साहित हुँदै मतदानका लागि लाम बसेका थिए ।

मतदानका लागि बिहान ७ बजेदेखि नै मतदाताको भीड बढेको थियो । गाउँ देखि सहर बजारका मतदान केन्द्रमा ११ बजे सम्म बढी भीड थियो । फेरी २ बजेबाट भीड बढेको थियो । जाडो भएकाले अधिकांस केन्द्रमा ५ बजे नै मतदान सकिएको छ । ३ मतदान केन्द्रमा भने ६ बजे सम्म मतदान भएको थियो । बृद्धबृद्धा र मुस्लिम महिलाहरु पनि उत्साह मतदान गरेका थिए ।

दक्षिण क्षेत्रमा समेत उत्सहाजन मतदान भएको छ । जिल्ला भरि शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, अब छिटो भन्दा छिटो मतपरिणाम दिन तयारीमा लागेका छौं । राति ११ बजे सम्म जिल्लाभरबाट मतपेटिका सदरमुकाम ल्याई पुर्‍याउने योजना बनाएका छौं उहाँले भन्नुभयो, त्यसपछि शुक्रबार बिहान सर्वदलिय बैठक बसेर मतगणना थाल्छौं । 

उपाध्याय र खनालद्वारा मतदान:

पूर्व राजदुत दीपकुमार उपाध्यायले निर्वाचन क्षेत्र नंं. १ वाणगंगा नगरपालिका–११ घरबुधिया प्रावि मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार उपाध्यायले बिहानै मतदान गर्नु भएको थियो । माओवादी डेपुटी कमाण्डर चक्रपाणि खनालले निर्वाचन क्षेत्र नंं. १ वाणगंगा नगरपालिका–६ मावि लक्ष्मणघाट मतदान केन्द्रबाट मतदान गरे । वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार खनालले विहानै मतदान गरेका थिए ।

९६ वर्षे बृद्धाद्वारा मतदान:

मायादेवी गाउँपालिका बर्रोहियाकी ९६ वर्षे बृद्धा तुल्सादेवी पौडेलले मतदान गरिन् । मायादेवी गाउँपालिका–१ आधारभूत मावि ईमिलिया केन्द्रबाट उनले मतदान गरिन् ।  


प्रतिक्रिया