कपिलवस्तु डायरी

पुस ७, २०७४ | कपिलवस्तु

-  नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले सुरु गरेको चुहावट नियन्त्रण विशेष अभियान अन्तर्गत शुक्रबार ११ जनालाई नियन्त्रणमा लिएको छ । अभियानको पहिलो दिन मायादेवी गाउँपालिकाको पकडी, विमिहा, शुद्धोधन गाउँपालिकाको लवनी, गुलरी र यशोधरा गाउँपालिकाको पुन्निहवामा छड्के गर्दा गैरकानुनी हुकिङ्ग गरेका विद्युत चोरी गरेका उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले प्रयोग गरेका पानी तान्ने मोटर, टिभी र पंखा लगायत १ लाख ५० हजार बढीको विद्युुतीय उपकरण जफत गरिएको छ । उनीहरुलाई जनही ५ हजार जरिवाना लिई छाडिएको वितरण केन्द्रका सुपरभाईजर रामकुमार साहको बताउनुभयो ।  

लैङ्गिक हिंसा न्युनिकरण पत्रकारिता पुरस्कार सञ्चारकर्मी नन्दराम पौडेललाई प्रदान गरिएको छ । जिल्लामा लैङ्गिक हिंसा न्युनिकरण र मानव अधिकार संरक्षणका लागि कलम चलाउँदै आएका उनलाई निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले सो पुरस्कार प्रदान गर्नुभयो । उनलाई नगद ५ हजार र सम्मन पत्र प्रदान गरिएको थियो । लैङ्गिक हिंसा न्युनिकरण अभियानमा सहभागी हुन थप उत्प्रेरणा मिलेको भन्दै पुरस्कृत पौडेलले यस्ता कार्यक्रमले मानव अधिकारका घटना बाहिर ल्याउन थप सहयोग बताए ।  

सातौं कपिलवस्तु डान्स आईडल ऐश्वर्या पौडेलले भएकीछिन् । नवौं कपिलवस्तु महोत्सव आकर्षण आईडलको उपाधि पारिजात इङिलश बोडिङ्ग स्कुलकी १२ वर्षीया छात्रा पौडेलले जितेकी हुन् । बुद्ध रंगशालामा सम्पन्न अन्तिम प्रतिस्पर्धाका ३ जनालाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । उपाधिसंगै उनले ५५ हजार नगद पुरस्कार हात पारिन् । डान्स आईडलमा दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमश: एलिसा सारु, मोनिका हमाल र दिब्या थापा भएका थिए । उनीहरुले क्रमश: ३५ हजार ५ सय ५५, २५ हजार ५ सय ५५ र १० हजार ५ सय ५५ रुपैयाँ हात पारे । 

जिल्लामा दुर्घटना न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरीले रिफलेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । विषेश गरी अहिले ट्याक्टरको ट्रलीमा टाँस्न थालिएको हो । ट्रली पछाडि बत्ति नहुँदा समस्या भईरहेको थियो । प्रहरी टोलीले सदरमुकाम तौलिहवा आसपास दुई दिनमा ५१ ट्रलीमा रिफलेक्टर राखेको हो । त्यस्तै जिल्लाभर १ सय ६० ट्रलीमा रिफलेक्टर स्टिकर लगाईएको छ । ब्याक लाईट नभएका ट्रलीमा दुर्घटनाको जोखिम बढेकाले  यस्तो अभियान सुरु गरेको ट्राफिक प्रहरी कार्यालय तौलिहवाका सहायक निरिक्षक रामशरण कुमालले बताउनुभयो । रिफलेक्टर स्टिकर राख्दा त्यसमा भएको रेडिएममा प्रकाश पर्नासाथ स्टिकर टल्कन्छ भएकाले यस्ले दुर्घटना न्युनिकरण गर्न सहयोग पुग्ने उहाँको भनाई थियो । 

शिवराज नगरपालिका वडा नं. २ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ । वडाका ८ सय ६ घरधुरीले चर्पी निर्माण गरी प्रयोग गर्न थालेपछि २ नम्बर वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो । शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले सो वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नुभयो । करिब ५ सय घरधुरीले शौचालय बनाएको वडामा गत भदौ देखि निर्माण अभियान चलाईएको थियो । ११ मध्ये ५ वटा वडा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भइसकेको छ । 


प्रतिक्रिया