कपिलवस्तुमा ८३ प्रतिशत मत खस्यो

मंसिर १४, २०७६ | कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा ८३ दशमलव १० प्रतिशत मत खसेको छ । १ हजार ७ सय २२ मतदाताले मतदान गरेका छन् । सो वडामा २ हजार ७२ मतदाता  थिए ।

शितलापुर मतदान केन्द्रमा ९०४ र लालपुर मतदान केन्द्रमा ११६८ मतदाता रहेका थिए । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । लालपुर र शितलापुर स्थित आधारभूत विद्यालय मतदान स्थलमा ३ मतदान केन्द्र थिए ।

शान्तिपूर्ण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले बताउनुभयो । साँझ सर्वदलीय बैठक बसेर मतगणना थालिने प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । दलले पनि साँझैबाट मतगणना गर्न दबाब दिएका छन् । वडा प्रहरी कार्यालय छेउमा रहेको दुर्गा मन्दिर परिसरमा मतगणना गरिने बताईएको छ । अध्यक्ष पदका लागि हुन गईरहेको निर्वाचनमा १२ जनाले उम्मेदवारी दिएका छन् ।

नेकपाबाट अदालत मनिहार, कांग्रेसबाट देवराज भारती र समाजवादी पार्टीबाट तीर्थबहादुर रायमाझीले उम्मेदवारी दिएका छन् । राजपाबाट मन्जु मिश्र, जनमत पार्टीबाट महोम्मदहानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र र राप्रपा संयुक्तबाट नुरमहोम्मद मनिहार उम्मेदवार छन् । त्यस्तै शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मदरफिक मनिहार स्वतन्त्र उम्मेदवार बनेका छन् ।

सो वडाकी अध्यक्ष सकुन्तला भारतीको निधन भएपछि पद रिक्त भएको थियो । उनको ७६ वर्षको उमेरमा गत चैत्र दोस्रो साता मृत्यु भएको थियो । उनी स्वतन्त्र रुपमा विजयी भएकी थिईन् । 

 


प्रतिक्रिया