उपसभामुख छोड्नुस, सभामुख बन्ने बाटो खुला छ : प्रवक्ता श्रेष्ठ

पुस २९, २०७६ | लमजुङ

सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङफे साभामुखको सशक्त दावेदार भएको बताउनु भएको छ । सभामुखको प्रतिस्पर्धामा जान पहिले उपसभामुखको पदबाट राजीनामा दिन श्रेष्ठले उपसभामुख तुम्बाहङ्फेलाई आग्रह गर्नुभयो ।

प्रेस संगठन लमजुङले मंगलबार मदन आश्रित स्मृति भवन बेंसीसहरमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘सभामुख बन्न पनि पहिले उपसभामुखबाट राजीनामा दिनुपर्छ । संवैधानिक बाटो खुलाउनुपर्छ ।’

संविधानको मर्मत अनुसार सभामुख बनाउन उपसभामुख रहेर सम्भव नरहेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘उपसभामुख हाम्रो पाटर्टीको रहुन्जेल सभामुख हाम्रो पार्टीको रहन सक्दैन । सभामुख हाम्रो पार्टीको पक्षमा राख्न उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेका हौं ।’

सभामुखका लागि प्रतिनिधिसभाका सबै सदस्यले दाबी गर्न पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपसभामुख भईसकेको हिसाबले अहिलेको उपसभामुखले त्यसमा दाबी राख्ने हक राख्नुहुन्छ र त्यो स्वभाविक पनि हो ।’

उपसभामुखले राजीनामा नदिँदासम्म सभामुख आफ्नो पार्टीले पाउने सम्भावनाकै अन्त्य हुने उहाँले बताउनुभयो । 

सभामुख सबैभन्दा ठूलो हाम्रो पार्टीले नपाउने स्थिति सिर्जना गर्नु पार्टीको हित चाहने र लोकतान्त्रिक मर्यादा स्वीकार्य गर्ने कसैको लागि पनि उपयुक्त नभएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया