वन्यजन्तुको तस्करी बढेपछि वन प्रवेशमा रोक

वैशाख ९, २०७७ | रौतहट

डिभिजन वन कार्यालय रौतहटले वनक्षेत्र प्रवेशमा प्रतिबन्ध लगाएको छ । लकडाउनको मौका छोपी वन्यजन्तुको शिकार गर्ने क्रम बढेपछि डिभिजन वन कार्यालयले वनक्षेत्र प्रवेशमा रोक लगाएको हो । लकडाउनमा पनि ग्रामीण भेगका मानिसहरु पशुका लागि घाँस दाउरा गर्न जंगल जान्थे । त्यो पनि रोकिएको छ । वनलाई भने निषेध कार्यान्वयन गर्न निकै चुनौती देखिएको छ ।

लकडाउनको फाईदा उठाउँदै वनतस्कर र वन्यजन्तु शिकार गर्ने क्रम बढेपछि राष्ट्रिय वन प्रवेशमा रोक कडाई गरेको हो । यसका लागि डिभिजन वनले ठूलो संख्यामा कर्मचारी र सशस्त्र वन रक्षक परिचालन गरेको छ । लकडाउनका बेला मानिसहरु अनाधिकृत रुपमा वन क्षेत्रमा प्रवेश गरी डढेलो लगाउने, वन्यजन्तको चोरी शिकार गर्ने र वन पैदावारको चोरी निकासी लगायत गतिविधि गर्न थालेपछि कडाई गरेको डिभिजन वन प्रमुख बिनोद सिंहले बताउनुभयो ।

 ‘वनप्रवेश निषेध गरेका छौं । तर, पनि कार्यान्वयन निकै चुनौती बनेको छ, ‘उहाँले भन्नुभयो, ‘वन हानी नोक्सानी र वन्यजन्तुको शिकार रोक्न हरसम्भव प्रयास गरिरहेका छौ ।’ प्रमुख सिंहले वनको क्षेत्राधिकार भित्रका राष्ट्रिय वन, सामुदायिक वन, धार्मिक वन, साझेदारी वन, र सरकारद्वारा व्यवस्थित वन क्षेत्रमा वन संरक्षणका गतिविधि बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी वन ऐन, २०७६ को दफा ९ बमोजिम जंगल प्रवेशमा निषेध गरिएको बताउनुभयो ।

अहिले हतियार सहित शसस्त्र वन रक्षकले चौबिसै घण्टा जंगलमा गस्ती गरिरहेका छन् । एक साता अघि चोचा वन क्षेत्रमा शिकारीको हतियार र जाल फेला पारेपछि वनले उच्च सतर्कता अपनाएको हो । लकडाउनले मुलुक ठप्पै रहेका बेला वन क्षेत्रभित्र भने तस्करहरुको बिगबिगी बढेको छ ।

विशेषगरी तराई र चुरे क्षेत्रका वनभित्र तस्करहरु सलबलाउन थालेका छन् । यो समयमा शिकारीको रजगज हुन्छ । उनीहरु आफै जंगलमा आगो लगाएर वन्यजन्तुको शिकार गर्छन् । डिभिजन प्रमुख सिंहले वन्यजन्तु सिकार गर्न जंगल छिर्नेहरुलाई नियन्त्रण गर्नै गाह्रो भएको बताउनुभयो । ‘दिउँसो भए त लखेटेर भगाइरहेका छौं, उहाँले भन्नुभयो, ‘रातको समयमा जंगल छिर्नेहरुलाई नियन्त्रण गर्न गाह्रो छ, । सबैका हातमा बन्दुक हुन्छ । यता लखेट्यो अर्को तिरबाट छिर्छन् । चारै तिर खुला जंगल छ ।’ 

केही दिन अघि तस्करलाई नियन्त्रण गर्ने क्रममा दुबै पक्षबीच गोली हानाहान भएको थियो । केही दिनयता कार्यालयले गस्ती पनि बढाएको छ । शिकारीले अहिले वनमा पाइने चित्तल, बंदेल र वन कुखुरा लगायत जीव मार्न पासोको प्रयोग गर्न थालेको पाइए पछि सबैतिर गस्ती विस्तार गरेको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया