हिमाल हेर्ने कोही भएनन्

जेष्ठ २, २०७७ | लमजुङ

हिमपात सकिएपछि मौसम खुलेको छ । गर्मीयामसंगै हिमाल पग्लिँदै गएको छ । पूर्वमा लाली छाएपछि हिमाल टलक्क टल्किएको छ । तर, हेरिदिने कोही छैनन् । त्यही हिमाललाई हेर्न लाखौं खर्च गरेर आउने पर्यटक अहिले हिमाल सामुन्ने छैन । ‘हामीलाई अहिले न्यास्रो लागेको छ । 

हिमाल पनि एक्लो भएको जस्तै लाग्छ । हिमाल हेरिदिने कोही भएनन्’ मनाङ ङिस्याङ गाउँपालिका १, माथिल्लो पिसाङका ७५ वर्षीय याङडुङ गुरुङले भने, ‘डेढ महिनै भयो पर्यटक नआएको । यो बेला पर्यटक नआउँदा नरमाइलो लागेको छ ।’ गएका वर्षमा यो बेला चक्रीय अन्नपूर्ण पदमार्गको माथिल्लो क्षेत्रमा पर्यटकको लस्कर देखिन्थ्यो । अहिले पर्यटक मात्रै नभएर स्थानीय समेत नहिँडेको उनले बताए ।

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य मनाङ आएपछि चारैतिर हिमाल देख्न सकिन्छ । संसारकै अग्लो हिमाली भञ्ज्याङ थोराङला (५,४१६ मि.) र संसारकै अग्लो मध्येको एक तिलिचो हिमताल (४,९१९ मि.) यहाँका गन्तव्य हुन् । ‘

यी ठाउँमा पाइला टेक्ने पर्यटकले आफैंलाई भाग्यमानी ठान्छन् । खुशी हुन्छन् । आँशु झार्छन् । यो उनीहरुको लागि प्रतिष्ठाको विषय पनि हो’ उहाँले भन्नुभयो, ‘अहिले यी ठाउँ हेर्ने कोही छैनन् । न आउने छन्, न बस्ने छन् ।’ उहाँका अनुसार मार्च, अप्रिल र मे महिना पर्यटकीय सिजन हो । त्यसपछि सेप्टेम्बर, अक्टुबर र नोभेम्बरमा बढी पर्यटक आउँछन् । 

गएका वर्षमा यो समय दैनिक ३ सय पर्यटक आउँथे । अहिले सुनसान छ । ‘पर्यटक छैन । चिन्ताको विषय बन्यो । साथीहरुले ठूला ठूला लगानी गरेर नयाँ होटल व्यवसाय पनि सञ्चालन गरेका थिए’ उहाँले भन्नुभयो, ‘लकडाउन खोलेपनि तत्काल विदेशी आउँदैनन् । यसले लामो समय प्रभाव पार्छ । आन्तरिक पर्यटक भित्र्याउने रणनीति अघि सार्नुपर्छ ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१९ मा २७ हजार ५१ विदेशी पर्यटक भित्रिएको थियो । सन् २०१८ मा २९ हजार ४ सय ८० पर्यटक आएका थिए । एक्यापको मनाङ धारापानी चेक पोष्टका अनुसार सन् २०१९ को जनवरीमा ४ सय ७२, फेब्रअरीमा ५ सय १४, मार्चमा २ हजार ६ सय ९५, अप्रिलमा ५ हजार १ सय ५१ र मेमा १ हजार ९ सय २८ पर्यटक भित्रिएका थिए । 

एक्यापको धारापानी चेकपोष्टकी पर्यटन सहायक सोमी गुरुङका अनुसार यसवर्ष जनवरीमा २ सय ५५, फेब्रअरीमा ५ सय १२ र मार्च २३ सम्म १ हजार १ सय ८२ पर्यटक भित्रिएका छन् । मार्च २४ देखि एक जना पनि पर्यटक आएका छैनन् । ‘डेढ महिना भयो, एकजना पनि पर्यटक आएका छैनन्’ उहाँले भन्नुभयो । मनाङमा पर्यटक नभित्रिएको १ महिना पुग्यो । लकडाउनयता पर्यटक भित्रिएका छैनन् ।

मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले लकडाउन खुलेपछि वा कोरोना संक्रमण सामान्य बन्दै गएपछि मनाङमा आन्तरिक पर्यटक भित्र्याउने बारे पर्यटन व्यवसायी, प्रशासन, प्रहरी, स्थानीय तहसंग छलफल गरिएको बताउनुभयो । ‘पर्यटक नआएपछि यहाँका पर्यटकलाई करोडौंको घाटा लागेको छ । पर्यटकको सिजनमै पर्यटक नहुँदा व्यवसायी चिन्तित छन् । सरकारले पनि पर्यटन व्यवसायीलाई सहयोग वा राहत प्याकेज ल्याउनुपर्छ ।’ उहाँले पर्यटकीय सिजनमा पर्यटकीय गन्तव्य सुनसान मात्रै नभई उराठ लाग्दो बनेको बताउनुभयो ।

एक्यापले सन् १९९६ देखि चक्रीय अन्नपूर्ण पदमार्गमा घुम्न आउने पर्यटकको तथ्यांक लिन थालेको छ । काठमाडौं, पोखरा र बेंसीसहरमा अनुमति लिएर आएका विदेशी पर्यटकले मनाङको धारापानी चेकपोष्ट (पर्यटक चेकजाँच केन्द्र) मा अनिबार्य आफ्नो विवरण बुझाउनुपर्छ । 

पछिल्लो ३ वर्षयता लमजुङकै मर्स्याङदी गाउँपालिका ९, सिम्पानी बगैंचामा पनि चेकपोष्ट राखेर पर्यटकको तथ्यांक लिन थालिएको छ । भूकम्प र नाकाबन्दी (०७१/७२ तिर) पर्यटक आगमनमा गिरावट आएको थियो । जनआन्दोलन उत्कर्षमा पुगिरहेको समय पनि पर्यटक आगमन राम्रो थिएन । प्राकृतिक बिपत्ति (हुदहुद, हिमपहिरो लगायत) ले तत्काल पर्यटक आगमन घटेपनि वार्षिक रुपमा त्यति धेरै पर्यटक घटेको थिएन । एक्यापका अनुसार एक महिनासम्म पर्यटक शुन्य रहेको इतिहासमै यो पहिलोपटक घटना हो ।

चक्रीय अन्नपूर्ण पदमार्ग आधा दशक अघिसम्म विश्वकै उत्कृष्ट १० पदमार्गमा गनिन्थ्यो । लमजुङको बेंसीसहरबाट सुरु भएर मनाङ, मुस्ताङ हुँदै म्याग्दीको तातोपानी, म्याग्दी भएर पोखरा वा तातोपानीबाट घोरेपानी हुँदै पोखरा पुग्नलाई २१ दिन लाग्थ्यो । अहिले मुस्ताङको मुक्तिनाथ र मनाङको मनाङ गाउँसम्म मोटर चलेपछि पदयात्रा एकसातादेखि १० दिनसम्म खुम्चिएको छ । पदमार्ग भएर जानुपर्ने ठाउँमा सडक निर्माण भएपछि उक्त पदमार्ग विश्वकै उत्कृष्ट १० को सूचीबाट समेत हटिसकेको छ ।


प्रतिक्रिया