सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहद्वारा आक्रमण

झापाको गौरीगञ्ज गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको अस्थायी सीमा सुरक्षा पोस्ट । तस्बिर सौजन्य : मदन राजवंशी  

श्रावण ४, २०७७ | बिर्तामोड

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको छ । शनिबार राति साढे ११ बजे झापाको गौरीगञ्ज गाउँपालिका ५ स्थित सीमा क्षेत्रमा झडप भएको हो । 

नेपाल–भारत सीमा क्षेत्रको १५२ नम्बर पिल्लर पूर्व मल्हाटोली नजिकै भारतीय तस्कर समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो । 

झडपका क्रममा सशस्त्रका दुई जना जवान सामान्य घाइते भएका छन् । हवाई फायरपछि तस्कर समूह फरार भएकाले भारततर्फको हताहतीबारे जानकारी आइनसकेको उहाँले बताउनुभयो । 

यसअघि पनि भारतीय नागरिकले जिल्ला अन्तर्गतको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि पटकपटक आक्रमण गरेका थिए ।


प्रतिक्रिया