बाढी पहिरोले लमजुङका दर्जन बढी परिवार विस्थापित

श्रावण ५, २०७७ | लमजुङ

आइतबार रातिदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोले लमजुङका एक दर्जन बढी परिवार क्षति पुर्‍याएको छ । दूधपोखरी गाउँपालिका–२, जल्केनीमा कमल तामाङ र बेदबहादुर तामाङको घरमा पहिरोले क्षति पुर्‍याउँदा उनीहरु विस्थापित भएका छन् । 

दूधपोखरी–५ बन्देस्वारामा पहिरोले रामबहादुर तामाङ, कालीमाया तामाङ र कामी तामाङको घर पूर्णरुपमा क्षति पुगेको छ । कलबहादुर तामाङको घर जोखिममा परेको छ । ४ जना परिवार विस्थापित भएको इन्सपेक्टर ओमप्रकाश पुनले बताउनुभयो ।

दोर्दी गाउँपालिका–३ काल्चेमा विकास भुजेल र अनिल भुजेलको घरमा क्षति पुर्‍याउँदा उनीहरु छिमेकीको घरमा सरेका छन् । दोर्दी–१, भारते लामिस्वारामा कृष्णप्रसाद अधिकारीको घर पहिरोले पुरिएको छ । अरु १० घर जोखिममा परेको प्रहरीले जनाएको छ ।

राइनास नगरपालिका–६ धमिलिकुवामा जुना चिलुवालको घर डुबानमा परेको छ । सुन्दरबजार नगरपालिका–९ फेदीकुनामा रामप्रसाद लौनियाको घरमा पहिरोले क्षति पुर्‍याएको छ । डीएसपी गंगाबहादुर थापाका अनुसार बाढी पहिरो पीडित सुरक्षित स्थानमा बसेका छन् । दर्जन बढी घर क्षति भएको जानकारीमा आएपनि मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।

सुन्दरबजार नगरपालिका–४, पुरानडिहीमा पूर्णबहादुर परियार र उनका छोरा यमबहादुर परियारको घर पहिरोले क्षति पुर्‍याउँदा उनीहरु विस्थापित भएका नेपाल रेडक्रस सोसाइटी दुराडाँडा उपशाखा सभापति लक्ष्मीकान्त नेउपानेले बताउनुभयो । उहाँका अनुसार करीब १० घर पहिरोको उच्च जोखिममा परेको छ ।

बाढी पहिरोका कारण राइनास नगरपालिका–६, गोफ्लीटारमा पहिरो जाादा गोरखाबाट लमजुङ आउने जाने मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ । यस्तै, मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेमा पहिरो जाँदा बेंसीसहर–चामे सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुन्दरबजार नगरपालिका–७, पाउादीमा पहिरो जाादा सोमबार दिउँसो बेंसीसहर–डुम्रे सडक अवरुद्ध बनेको थियो ।


प्रतिक्रिया