प्रदेश सभामा एकैदिन तीन वटा विधेयक पारित

श्रावण ७, २०७७ | मोरङ

प्रदेश एकको प्रदेश सभा बैठकले बुधबार एकैदिन तीन वटा विधयेक पारित गरेको छ । बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सार्बजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७७ संशोधन सहित सर्वसम्मतिले पारित गरेको हो ।

बालबालिका सम्बन्धी विधेयकमाथिको दफाबार छलफलपछि सामाजिक विकास समितिका सभापति सरिता थापाले संशोधन सहितको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्नु भएको थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रतिवेदन सहितको सो विधेयक पारितका लागि गरेको प्रस्ताव ध्वनि मतका आधारमा सर्वसम्मतिले प्रदेश सभाबाट पारित भएको हो ।

औद्योगिक व्यवसाय सम्बन्धी विधेयकमाथिको दफावार छलफलपछि उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सीता थेवे जबेगुले संशोधन सहितको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्नु भएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिस कुसियैतले प्रतिवेदन सहितको विधेयक पारितका लागि गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

यस्तै, प्रदेश सार्वजनिक सडक सम्बन्धी विधेयकमा सत्तारुढ दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य मोहनकुमार खडका, बलबहादुर साम्शोहाङल गायतले संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

उनीहरुको तर्फबाट खडकाले शंशोधन प्रस्ताव दफावार छलफलका बैठकमा प्रस्तुत गरेको थियो । सो संशोधन प्रस्ताव स्वीकार गर्दै भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले विधेयक पारितका लागि गरेको प्रस्ताव बैठकबाट ध्वनि मतका आधारमा सर्वसम्मतिले पारित भयो । 


प्रतिक्रिया