मर्स्याङ्दी पारीको पहिरोले २ घर पुरियो, ३ घाइते

लमजुङको मर्स्याङदी गाउँपालिका–८, सुरुङमार्गमाथि मर्स्याङदी नदी छेउको पहिरो । तस्बिर : रेडियो कान्तिपुर । 

श्रावण ८, २०७७ | लमजुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ मा पर्ने सुरुङमार्गको माथिल्लोपट्टी मर्स्याङ्दी नदी तर्फको ढिस्को खस्दा वारीपट्टी वडा नम्बर–३ को खहरे खोलामा २ घर पुरिएको छ । 

ढिस्को खसेर मर्स्याङ्दी नदीमा छाल आउँदा करीब ५० मिटर माथिका २ घर बाढी र पहिरोले पुरेको हो । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकका अनुसार पारीपट्टी सुरुङमार्ग माथिको डाँडा ढिस्को नै खस्दा त्यसले वारीपट्टीको घरमा क्षति पुर्‍याएको देखिएको छ । 

बुधबार राति १२ बजेतिरको पहिरोका कारण घर पुरिँदा ४२ वर्षीया लालकौंरी तामाङ, ५२ वर्षीय कुमबहादुर तामाङ र छिमेकी ७४ वर्षीय बलबहादुर थापा घाइते भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी गंगाबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार लालकौंरीको दाहिने हात भाचिएको र अवस्था गम्भीर रहेकाले उनलाई बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरेको छ । 

लालकौंरीको उपचार भइरहेको उहाँले बताउनुभयो । कुमबहादुरको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार गरिएको र बल बहादुरको स्थानीय मेडिकलमै उपचार गरिएको डीएसपी थापाले जानकारी दिनुभयो ।

पारीपट्टीको भित्ता भासिएर वारीपट्टी क्षति पुर्‍याएको घटनाले स्थानीय अचम्ममा परेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सुनाउनुभयो । उहाँका अनुसार बाढी पहिरोले वारीपट्टीको बाटो हुँदै मनाङ जाने सडकमा पनि क्षति पुर्‍याएको छ ।


प्रतिक्रिया