संक्रमितको पहिचान लुकाउने विराट नर्सिङ्ग होम सिल

श्रावण ८, २०७७ | मोरङ

कोरोना संक्रमितको पहिचान लुकाउने विराटनगर अस्पताल प्रालि (विराट नगर्सिङ्ग होम) लाई सिल गरेको छ । अस्पताल सञ्चालक मध्येका ६५ वर्षीय एक चिकित्सकको स्वाब परीक्षण रिपोर्टमा मंगलबार पोजिटिभ आएको थियो । रिपोर्ट पोजिटिभ देखिए पनि चिकित्सकले नाम, ठेगाना र मोबाइल नम्बर गलत दिएर स्वाब परीक्षण गराएको हुँदा महानगरलाई संक्रमित खोज्न हम्मे हम्मे परेको थियो । 

अस्पताल सञ्चालक तथा चिकित्सनै संक्रमित भएको र संक्रमण पुष्टि भएका दिनसम्म अस्पतालमा बिरामीदेखि कर्मचारीसम्म उनले भेटेको कारण अस्पताल सिल गरिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो । ‘सिल गरेसँगै बिरामी र कुरुवालाई अस्पताल बाहिर आवतजावत गर्नमा रोक लगाइएको छ,’ उहाँले भन्नुभयो, ‘अस्पतालमा रहेका चिकित्सक, बिरामी लगायत संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी अस्पताललाई सेनिटाइज गर्नुपर्ने निर्णय गरिएको छ ।’

रिपोर्ट पोजिटिभ आएपछि चिकित्सक मंगलबार रातिबाटै सम्पर्कबिहीन भएका थिए । उनको स्वाब विराट नर्सिङ्ग होमबाटै संकलन गरेर परीक्षणका लागि कोशी अस्पताल लगिएको कार्कीले बताउनुभयो । ‘स्वाब संकलन गर्ने क्रममा नै उहाँले आफ्ना नाम र मोबाइल नम्बर गलत लेखाउनु भएको थियो,’ उहाँले भन्नुभयो, ‘ठेगानामा विराटनगर मात्रै उल्लेख भएकाले उनलाई खोज्न महानगर र प्रहरीलाई ४० घण्टा लाग्यो ।’ चिकित्सकको उमेर ६५ वर्ष भएपनि स्वाब संकलन गर्ने क्रममा ५० वर्ष मात्रै लेखाएका थिए । उनले लेखाएको मोबाइल नम्बर धनकुटामा कार्यरत एक प्रहरीको रहेकोले महानगर र मोरङ प्रहरीले पहिचान लुकाएर स्वाब परीक्षण गराएको हुन सक्ने निष्कर्षमा पुगेका थिए ।

उनको खोजीका लागि महानगरका कर्मचारी र वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतम नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो । सम्पर्कबिहीन संक्रमित बारे प्रहरी र महानगरको जनस्वास्थ्य टोलीले अस्पताल प्रशासनदेखि ल्याबका कर्मचारीलाई सोधपुछ गरेका थिए । धेरै सोधपुछ र खोजबिनपछि मात्रै संक्रमित व्यक्ति पत्ता लागेको कार्कीले बताउनुभयो ।

चिकित्सकको पहिचान लुकाउने कार्यमा अस्पतालकै भूमिका रहेकोले सेनिटाइज गर्ने सम्पूर्ण खर्च अस्पतालले नै व्यहोर्नुपर्ने महानगरले निर्णय गरेको छ । ‘झुठो विवरण दिई स्वाब परीक्षण गराएको र संक्रमितको पहिचान लुकाउनेलाई कोभिड–१९ मापदण्ड तथा निर्देशिका अनुसार कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उहाँले भन्नुभयो, ‘चिकित्सकलाई नै कोरोना भएको विषय सार्वजनिक भएपछि अस्पतालमा बिरामी नआउने र व्यापार मर्ने भएकाले संक्रमित चिकित्सकको पहिचान लुकाउनमा अस्पताल प्रशासनले भूमिका निर्वाह गरेको महानगरको ठहर छ ।’

संक्रमित पत्ता लागेपनि हालसम्म महानगरको जनस्वास्थ्य महाशाखाको टोलीको सम्पर्कमा आइसकेको छैन । ‘संक्रमितलाई पटक पटक फोन गर्दा समेत सम्पर्कमा नआएको र पूर्ण रुपमा लक गरेर घरभित्र बसेकाले संक्रमित चिकित्सकसँग सम्पर्क हुन सकेन,’ कार्कीले भन्नुभयो, ‘स्वस्फूर्त रुपमा सम्पर्कमा नआए स्थानीय प्रशासनको सहयोगमा सम्पर्क स्थापित गर्छौं ।’

चिकित्सकसँग सम्पर्क स्थापित भएपछि उनको घरको निरीक्षण गरी घरमै बस्न मिल्ने पूर्ण व्यवस्था भए त्यही राख्ने र नभए कोभिड–१९ उपचार केन्द्रमा लगेर राख्ने कार्कीले बताउनुभयो । उनै चिकित्सकले बुढीगंगा गाउँपालिकामा सञ्चालन गरेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा हालसम्म कुनै सुरक्षात्मक उपाय अपनाइएको छैन । संक्रमित चिकित्सकले संक्रमण पुष्टि भएको दिनसम्म मेडिकल कलेज र शिक्षण अस्पतालमा समेत विद्यार्थी, कर्मचारी, चिकित्सक, बिरामी तथा कुरुवासँगको सम्पर्कमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले मेडिकल कलेज र शिक्षण अस्पताल सिल गरेर संक्रमण फैलिन नदिने सुरक्षात्मक तथा निदानात्मक उपाय अपनाउन माग गर्नुभयो ।

‘यस सम्बन्धमा हामीलाई भर्खरै जानकारी प्राप्त भएकाले चाँडै ठोस निर्णय लिन्छौं,’ उहाँले भन्नुभयो, ‘गाउँपालिकामा स्रोत साधनको कमी भएकाले यसमा प्रदेश सरकारले चासो लिएर तत्काल मेडिकल कलेज र शिक्षण अस्पताल सिल गरी उपचारात्मक तथा निदानात्मक उपाय अपनाउनु आवश्यक छ ।’

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्द बहादुर कार्कीले कोभिड–१९ का सम्बन्धमा सम्पूर्ण व्यवस्थापनको जिम्मा जिल्ला स्वास्थ्य कार्यालय मोरङ प्रमुख ज्ञानबहादुर बस्नेतलाई दिइएकोले व्यवस्थापनमा लागेको हुन सक्ने बताउनुभयो । तर, बस्नेतले भने मेडिकल कलेज र शिक्षण अस्पतालको विषयमा अनभिज्ञता प्रकट गरे ।

प्रदेश १ प्रहरी कार्यालय पनि सिल :

प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ । बुधबार एक प्रहरी अधिकृतमा संक्रमण पुष्टि भएको र उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार ११ जनाको स्वाब परीक्षण गरिएको मध्ये थप ४ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले बताउनुभयो ।

‘बिहीबार कार्यरत थप १ सय ५० जना प्रहरीको स्वाब नमूना संकलन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘कार्यालय सिल गरेर सेनिटाइज गरिएको र सबै जना सेल्फ क्वारेन्टिनमा बसिरहेका छौं ।’ प्रदेश प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा अनलाइनबाट दिने व्यवस्था गरेको पोखरेलले बताउनुभयो । 


प्रतिक्रिया