सीमा सुरक्षार्थ खटिएका सशस्त्रमाथि भारतीय समूहद्वारा आक्रमण

भारतीय समूहको आक्रमणमा हात काटिएका शसस्त्र प्रहरी जवान । तस्बिर सौजन्य : सशस्त्र प्रहरी । 

श्रावण १०, २०७७ | रौतहट

सीमाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमाथि भारतीय समूहद्वारा फेरि आक्रमण भएको छ । भारतीय समूहको आक्रमणमा परी सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् । नेपाल–भारत सीमाबाट नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा भारतीय समूहले आक्रमण गरेको हो । 

सरमुझवास्थित बोर्डर आउट पोस्ट (बीओपी) को टोलीमाथि भारतीयले आक्रमण गरेको हो । दुबै देशमा कोभिड–१९ को संक्रमण बढीरहेको बेला भारतीय महिलालाई नआउन अनुरोध गर्दा उल्टै धारिलो हतियार (हँसिया) ले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । 

हँसिया प्रहारबाट सशस्त्रका एक जवानको दाहिने हातमा चोट लागेको छ । घट्नापछि केही बेर तनाव उत्पन्न भएको थियो । त्यस क्रममा ड्युटीमा रहेको सशस्त्र प्रहरीमाथि हातपात गर्दै भारतीय समूहले हतियार खोस्ने प्रयास गरेका थिए ।

रौतहटको परोहा–९ स्थित नेपाल–भारत सीमाक्षेत्रको नरकटिया नाकाबाट शुक्रबार साँझ दुई भारतीय महिला नेपाल प्रवेश गर्न लाग्दा शसस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले कोरोनाको कारण देखाउँदै रोक्ने प्रयास गरेको थियो । ती महिलाले नेपालको प्रशासनले ज्यादती गरेको र आफ्नो भूमिमा हिँड्डुल गर्न पाउनु पर्छ भन्दै होहल्ला गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो । 

झण्डै २ सय भारतीयहरु सीमाक्षेत्रमा जम्मा भई ड्युटीमा रहेको सुरक्षाकर्कीको हतियार खोस्ने प्रयास गरेको सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटका प्रमुख एसपी रविनराज कर्णजीतले बताउनुभयो । ‘भारतीयहरु निकै आक्रामक शैलीमा प्रस्तुत भएर हतियार समेत खोस्ने प्रयासमा लागे,’ उहाँले भन्नुभयो, ‘कोरोना संक्रमणका कारण सीमामा आवतजावत नगर्न अनुरोध गर्दा उल्टै हतियार खोस्न र आक्रमणको प्रयास गरे ।’

घट्नास्थलमा भारतको पूर्वी चम्पारणस्थित कबैया–६ अर्सलवाकी सीमादेवी कुशवाहाले आफ्नो साथमा रहेको धारिलो हसियाले सशस्त्र प्रहरीमाथि प्रहार गरेकी थिईन् । त्यसपछि आत्मरक्षाको लागि एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको एसपी कर्णजीतले बताउनुभयो ।

ठूलो संख्यामा भारतीयहरु जम्मा भएपछि नेपालीहरु पनि झण्डै दोब्बरको संख्यामा त्यहाँ पुगेका थिए । त्यसपछि सशस्त्र प्रहरीको मनोबल उच्च भएको थियो । घट्नामा संलग्न भारतीय नागरिक रविन्द्रप्रसाद कुशवाहालाई सशस्त्रले नियन्त्रणमा लिई नेपाल प्रहरीको नरकटिया चौकीमा जिम्मा लगाएको थियो । घट्नापछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ७१ औं बटालीयन ‘ए’ कम्पनीका इन्सपेक्टर अजयकुमारलाई राति ११ बजे जिम्मा लगाईएको थियो । 

घट्नास्थलमा शनिबार बिहान देखि एसपी कर्णजीतको कमाण्डामा ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट ३५ जना प्रहरी टोली खटेको थियो । शसस्त्र प्रहरी प्रदेश २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका डीआईजी कृष्णभक्त ब्रम्हचार्यले घट्नास्थलको अनुगमन गरेका छन् । कोभिड–१९ कै कारण नेपाल–भारत सीमाक्षेत्रमा आवतजावत बन्द गरिएको छ । यस्तो बेला भारतीयहरु जबरजस्ती नेपाल प्रवेश गर्न लाग्दा घट्ना भएको हो ।


प्रतिक्रिया