रौतहटमा वडाध्यक्षलाई कोरोना

श्रावण ११, २०७७ | रौतहट

काम विशेषले काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका रौतहटको राजदेवी नगरपालिका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । वडाअध्यक्षलाई कोरोना संक्रमण देखिएको यो दोश्रो घट्ना हो ।

चार दिन अघि काठमाडौ जानुपर्ने भन्दै राजदेवी–८ का वडाअध्यक्षको स्वाब परीक्षणका लागि हेटौंडा पठाईएको थियो । उनको रिपोर्ट नआउँदै शनिबार साँझ पानी तान्ने मोटरको तारमा छुदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको थियो । उनको छोरा समेत करेन्ट लागेर घाईते भएका छन् । 

श्रीमतीको दाहसस्कार पछि आईतबार वडा अध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको हो । करेन्ट लागेपछि श्रीमतीलाई लिएर जिल्ला अस्पताल गौर पुगेकाहरु र वडाध्यक्षको सम्पर्कमा रहेकाहरुको पनि पहिचानको लागि कन्ट्याक्छ ट्रेसिङको काम भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।

दाहसंस्कारमा सहभागी एक सय भन्दा बढी व्यक्तिहरुलाई तत्काल परीक्षण गर्नुपर्ने भएको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताउनुभयो । ‘वडा अध्यक्षको सम्पर्कमा आएकाहरुको पहिचान गरी तत्काल क्वारेन्टिनमा राख्न लागेका छौं, उहाँले भन्नुभयो, ‘अहिले संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गर्नेे काम भईरहेको छ ।’ 

प्रशासनले वडा अध्यक्षका श्रीमतीलाई अस्पताल लैजाने र मृत्युपछि दाहसंस्कारमा सहभागी सम्मका व्यक्तिहरुको परीक्षणको काम सुरु गरेको छ । संक्रमित वडाध्यक्ष मुटु र मधुमेहको रोगी समेत भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भईरहेको राजदेवीका नगरपालिकाका प्रमुख धिरेन्द्र सिंहले बताउनुभयो । नगरपालिकाकै केही व्यक्तिलाई होम क्वारेन्टिनमै बस्न भनेको उहाँले बताउनुभयो ।

कोरोना जित्नेहरु बढे :

रौतहटमा कोरोना संक्रमण मुक्त भएर घर फर्कनको संख्या शनिबार सम्म १ हजार २ सय ४१ पुगेको छ । कोभिड–१९ संक्रमणको ‘हटस्पट’ भनेर कहलिएको यो जिल्लामा पछिल्लो एक महिनामा निको भएर घर फर्कनेको संख्या बढ्दो छ । 

आईतबार सम्म रौतहटमा १ हजार ३ सय २१ जना कोरोना संक्रमण पुष्टि भईसकेको छ । भारतमा रोजगारी गुमेर घर फर्केकाहरु धमाधम क्वारेन्टिन बस्न थालेपछि उनीहरुमा संक्रमण देखिएको हो । पछिल्लो समय कोरोना जित्नेहरु बढेका छन् । 


प्रतिक्रिया