रौतहटमा ग्यास सिलिण्डर बाँड्ने क्रममा झडप

श्रावण १४, २०७७ | रौतहट

रौतहटको यमुनामाई गाउँपालिका–५ को झुनखुनवामा झडप हुँदा बालबालिका सहित १२ जना घाइते भएका छन् । ग्यास सिलिन्डर वितरण गर्दा पक्षपात गरेको भन्दै दुई पक्षबीच भएको विवाद झडपमा परिणत भएको हो । 

घाईते अधिकांशको टाउकोमा चोट लागेको छ । घट्नास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । झुनखुनवा टोलमा गरीब, विपन्न र निम्न आय भएका परिवारलाई गाउँपालिकाले सिलिन्डर वितरण गर्ने क्रममा विभेद गरेको भन्दै दुई पक्षबीचमा झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झडपमा दुबै पक्षका दर्जन बढी घाइते भएका छन् । गाउँका एक दलितले ग्यास सिलिण्डर माग्दा नदिएको आरोप लगाए । ‘हामीले सिलिण्डर दिन अनुरोध गर्दा ढुंगा प्रहार गरे, उनले भने, ‘गाउँका ठूलाबडाले आफ्नो मानिसलाई मात्र सिलिण्डर वितरण गरेकाले झडपको अवस्था आएको हो ।’ 

सो वडाका दलितहरुले सिलिण्डर वितरणमा पक्षपात भएको आरोप लगाएका छन् । गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाका अनुसार पालिकाको योजना अनुरुप गरीब तथा विपन्न वर्गलाई सिलिन्डर वितरण गर्ने कार्यक्रम रहेकोमा एउटा टोलमा बुधबार र अर्कोमा बिहीबार वितरण गर्नेगरी मिलाइएको थियो । तर, सूचनाको अभावका कारण बिहीबार वितरण गर्ने भनिएको टोलका मानिसहरु आजै आएको र उनीहरुले नपाउने भ्रममा परेपछि विवाद हुँदा झडप भएको हो ।

‘एउटा वडामा २ सय २५ थान ग्यास सिलिन्डर वितरण गर्ने योजना थियो । तर, अनावश्यक विवाद निकालेर झडपको अवस्था सिर्जना भयो, ‘उहाँले भन्नुभयो, ‘दुबै पक्षलाई राखेर सिलिन्डर वितरण नगर्ने र पाउने व्यक्तिहरुको नामावली संकलन गरेर कुपन दिएर बिहीबार पुन: बाड्ने सहमति भएको छ ।’

निशुल्क सिलिण्डर पाउने भएपछि दुई वटा वडाका मानिसहरु वितरण गर्ने स्थानमा पुगेका थिए । अहिले स्थिति सामान्य रहेको र थप झडप हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताउनुभयो । घाईतको गौर अस्पतालमा उपचार भईरहेको छ । 


प्रतिक्रिया