नापी कार्यालयका दुई कर्मचारी सहित थप १३ जनामा संक्रमण

श्रावण १८, २०७७ | मोरङ

मोरङको विराटनगर महानगरपालिकास्थित नापी कार्यालयमा कार्यरत दुई कर्मचारी सहित थप १३ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा कोशी अस्पतालका तीन जना नर्स, दुई जना मोरङ कारागारका र बाँकी ६ जना सर्वसाधारण रहेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो ।

महानगरले कारागारका दुई जना संक्रमित भएको भने पनि मोरङ कारागारका निमित प्रमुख रामप्रसाद पाखरेलले कोही संक्रमित नभएको बताउनुभयो । ‘संक्रमित भनिएका दुई जनाको नाम ल्याएर कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मीहरुमा खोजी गर्दा ती नाम गरेका कोही पनि भेटिएन,’ उहाँले भन्नुभयो, ‘कारागारभित्र हालसम्म कसैको स्वाब पनि संकलन गरिएको छैन । तर, कारागार पठाउनेहरुलाई स्वाब संकलन गरेर मात्रै पठाउने गरे पनि ती नाम भएका व्यक्तिहरु आएको तथ्यांक छैन ।’

महानगरमा यसअघि ब्यापारी, स्वास्थ्यकर्मी, शुरक्षाकर्मी र समाजका अगुवा व्यक्तिहरुमा देखिएको संक्रमण सेवामुलक कार्यालयको कर्मचारीमा पनि देखिन थालेको छ । कोशी अस्पतालका एक चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीसहित ८ जनामा संक्रमण पुष्टि भइसकेको छ । अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

यस्तै, विराट नर्सिङ्ग होम, न्यूरो र म्याक्स इन्टरनेशनल सहित ४ वटा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारीमा संक्रमण पुष्टि भएपछि सिल गरिएको छ । प्रदेश १ प्रहरी कार्यालयका २४ जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ । महानगरमा हालसम्ममा २ हजार ८ सय १२ जनाको स्वाब परीक्षण गरिएको मध्ये १ सय २० जनामा संक्रमण पुष्टि भएको जसमा ३१ जना संक्रमण मुक्त भएर घर फर्किसकेको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।

महानगरले समुदायमा संक्रमण फैलिएको भन्दै शुक्रबार मध्यरातिबाट लकडाउन गरेको छ । लकडाउन गरेर बढी भिडभाड हुने सेवामुलक कार्यालय, अस्पताल, सुरक्षाकर्मी, समाजका अगुवा व्यक्ति, चिया पसल लगायत सार्वजनिक स्थलमा बस्नेहरुको स्वाब संकलन गरी परीक्षण सुरु गरेको महानगर प्रमुख भीम पराजुलीले बताउनुभयो । 

स्थानीय प्रशासन र प्रदेश सरकारसँगको समन्वयमा भारतबाट अबैध रुपमा हुँदै आएको ओहोरदोहोरलाई पूर्ण रुपमा कडाई गर्न र लकडाउन सफल बनाउने काम भइरहेको उहाँको भनाई छ । मोरङमा संक्रमितको संख्या ३ सय ३० पुगेको छ जसमा २ सय १३ जना निको भएर घर फर्किसकेका छन् । 

सुनबर्षी ८ का ४५ वर्षीय एक पुरुषको संक्रमणबाट मृत्यु भइसकेको छ । प्रदेश १ मा आइतबार सम्ममा १ हजार ७१ जनामा संक्रमण पुष्टि भएको र त्यसमध्ये ८ सय २१ जना निको भएर घर फर्किसकेका छन् । यस प्रदेशमा आइतबार सम्ममा ४४ हजार ८ सय २० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  


प्रतिक्रिया