बिर्तामोडमा पनि लकडाउन

श्रावण १८, २०७७ | बिर्तामोड

झापाकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा पनि लकडाउन गर्ने निर्णय गरिएको छ । बिर्तामोड नगरपालिकामा भएको सर्वपक्षीय छलफलले आइतबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय भएको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिएको छ । छिमेकी पालिकामा संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनीहरुको सम्पर्क बिर्तामोडसम्म पाएपछि नगर क्षेत्रमा थप संक्रमण फैलिन नदिन लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख सिवाकोटीले बताउनुभयो । 

लकडाउन अवधिभर बजार, पसल, सवारी साधन, कार्यालय, वित्तीय संस्था लगायत सबै क्षेत्र बन्द गर्ने निर्णय भएको छ । खाद्यन्न पसल भने बिहान ८ देखि ११ बजेसम्म खोल्न दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपतिराज खतिवडाले जानकारी दिनुभयो ।

एक साताअघि छिमेकी बाह्रदशी गाउँपालिकामा औषधि व्यवसायी र स्थानीय नेकपाका नेतामा संक्रमण पुष्टि भएको थियो । नेकपाका नेता जिल्ला पार्टी कार्यालय बिर्तामोडसम्म आएको तथा संक्रमित औषधि व्यवसायीको पसलमा बिर्तामोडस्थित औषधि विक्रेताहरु पुगेर फर्किएको कन्ट्याक्ट ट्रेसिङका क्रममा फेला परेका थिए । 

संक्रमित दुई जनाको प्रत्यक्ष सम्पर्कमा बिर्तामोडका करीब ९० जना पुगेको कन्ट्याक्ट ट्रेसिङमा फेला परेको नगर स्वास्थ्य शाखा प्रमुख ओम खड्काले जानकारी दिनुभयो ।  त्यस्तै केही दिनअघि इलामका एक जना सशस्त्र प्रहरीका निरीक्षकमा संक्रमण पुष्टि भएको थियो । 

उनी पनि बिर्तामोडमा आएर बसेको कन्ट्याक्ट ट्रेसिङका क्रममा खुलेको थियो । बिर्तामोडका ६८ जना संक्रमित प्रहरी निरीक्षकको सम्पर्कमा पुगेको पाइएको खड्काले बताउनुभयो । शनिबार बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिन सुरक्षार्थ खटिएकी एक महिला प्रहरीमा संक्रमण पुष्टि भएको थियो । 

उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रम जारी छ । स्वास्थ्य शाखा प्रमुख खड्काले भन्नुभयो, ‘उनको कन्ट्याक्ट ट्ेरसिङका आधारमा आज (आइतबार) सम्म ५० जनाको नाम लिष्ट तयार भएको छ । भोलि (सोमबार) पनि गर्छौं । करीब एक सय जना पुग्छ होला ।’ 

महिला प्रहरीको सम्पर्कमा आएको भन्दै बिर्तामोडको एउटा औषधि पसल समेत बन्द गरिएको छ । बिर्तामोड नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ७ जना उपचार पछि घर फर्किसकेको खड्काले बताउनुभयो । 


प्रतिक्रिया