कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

श्रावण १९, २०७७ | मोरङ

विराटनगरस्थित कोशी अस्पतालमा सोमबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर ५ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

कोशी अस्पतालका प्रवक्ता लक्ष्मी नारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार अस्पताल आएपछि आइसोलेशनमा राखेर स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यो सँगै मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्य सहित थप स्वास्थ्यकर्मी र प्रहरीमा गरी सोमबार विराटनगरमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका–५ मा बस्दै आएका आचार्यका परिवारका अन्य दुई सदस्यमा समेत संक्रमण पुष्टि भएको हो ।

‘मुख्य न्यायाधिवक्ता आचार्यलाई यसअघि दुई दिन ज्वरो आएर निको भइसकेको थियो,’ विराटनगर महानगरका जनस्वास्थ्य महाशाखाका हैदर अलीले भने, ‘आचार्यलाई संक्रमणको स्रोत खुलेको छैन ।’ उनी नियमित रुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी हुँदै आएकाले प्रदेशका मन्त्री लगायत उच्च पदस्थ कर्मचारीहरुमा संक्रमणको जोखिम बढेको अलीको भनाई थियो ।

विराटनगरमा देखिएका संक्रमतिमध्ये न्यूरो हस्पिटलका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी छन् । प्रदेश प्रहरी कार्यालयका थप ७ जनामा प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएको उनले बताए । यस्तै, कोशी अस्पतालमा कार्यरत थप २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जना र अन्य सर्वसाधारणमा कोरोना पुष्टि भएको अलीले बताए ।

यस्तै, रंगेली नगरपालिकामा पनि २२ जनामा कोरोना संक्रमण देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो ।

विराटनगर महानगरमा हालसम्ममा १ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा ३१ जना निको भएर घर फर्किसकेका छन् । महानगरले समुदायमै संक्रमण फैलिसकेको भन्दै नियन्त्रणका लागि शुक्रबार मध्यरातिदेखि दुई साताका लागि लकडाउन गरेको छ । 

मोरङमा संक्रमितको संख्या ३ सय ७६ पुगेको छ जसमा २ सय १३ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । संक्रमणबाट यसअघि सुनबर्षी–८ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको थियो ।


प्रतिक्रिया