कोरोना संक्रमितको उपचार झापामै

झापाको भद्रपुरस्थित मेची अस्पतालको भवन । तस्बिर : अर्जुन/रेडियो कान्तिपुर  

श्रावण १९, २०७७ | बिर्तामोड

कोरोना भाइरस संक्रमितहरुलाई सोमबारदेखि झापामै राखेर उपचार सुरु गरिएको छ । प्रदेश सरकारको समन्वयमा भद्रपुरस्थित मेची अस्पतालको आइसोलेसनमा राखेर संक्रमितहरुको उपचार सुरु गरिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो । 

उहाँका अनुसार सोमबार संक्रमण पुष्टि भएका अर्जुनधारा नगरपालिकाका–४ र बिर्तामोड नगरपालिकाका एक गरी पाँच जनालाई मेची अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । मेचीमा २५ शैय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको छ । 

प्रदेश एक सरकारको निर्देशन अनुसार अस्पताल विकास समितिको आइतबार बसेको बैठकमा कोरोना संक्रमितहरुलाई मेचीमा राख्ने निर्णय भएको डा.गोविन्द कँडेलले जानकारी दिनुभयो । संक्रमितको उपचारका लागि प्रदेश सरकारले मेची अस्पताललाई दुई वटा भेन्टिलेटर उपलब्ध गराएको छ ।

चम्लागाईका अनुसार जिल्लामा संक्रमतिको संख्या ३ सय ७५ पुगेको छ । उनीहरुमध्ये ३ सय १२ जना उपचारपछि संक्रमण मुक्त भएर घर फर्किएका छन् । 

संक्रमित हुनेमा ३ जना स्थानीय, एक जना जनपथ प्रहरी, ३५ जना सशस्त्र प्रहरी तथा अन्य भारत र तेस्रो मुलुकबाट फर्किएकाहरु छन् । यसअघि जिल्लामा संक्रमण पुष्टि भएकाहरुलाई उपचारका लागि मोरङको गोठगाउँ, बिराटनगर र धरान पठाउने गरिएको थियो ।


प्रतिक्रिया