कपिलवस्तुमा मंगलबारबाट लकडाउन

श्रावण २६, २०७७ | कपिलवस्तु

समुदायमा संक्रमण बढ्दै गएपछि कपिलवस्तुमा मंगलबारबाट ६ दिनका लागि लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कोभिड क्राईसिस म्यानेजमेन्ट समितिको बैठकले साउन २७ गते बिहान ५ बजेदेखि ३२ गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको हो । 

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । सर्वसाधारणलाई आवतजावत गर्न नदिने गरी लकडाउनसँगै व्यापार व्यवसाय, जिल्लाभरिको बजार पसल बन्द गरिएको छ । तर, तरकारी र खाद्यान्न पसल भने बिहान ८ देखि १० बजेसम्म संचालन गर्न दिईएको छ । 

निजी तथा सार्वजनिक यातायातका साधान पनि सञ्चालनमा रोक लगाइएको छ । होटल, रेष्टुरेन्ट र चिया पसल पनि बन्द गरिएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था पनि बन्द गरिएको छ ।

‘कडाई नगरी नहुने अवस्था सिर्जना भएको, प्रजिअ पौडेलले भन्नुभयो, ‘भयावह अवस्था रोक्न कठोर कदम चाल्नु पर्‍र्यो । समुदायमै भाईरस संक्रमण पुग्यो । सबै मिलेर सचेतना र सतर्कता अपनाएर नियन्त्रणमा लिनुको विकल्प छैन् ।’

अवस्था हरेर लकढाउनको अवधि अझ बढाउन पनि सकिने उहाँको भनाई छ । लकडाउन खुकुलो भएको ५७ दिनपछि मंगलवारबाट पुन लकडाउन गरिएको छ । गत असार १ गतेदेखि लकडाउन खुकुलो पारिएको थियो । 

जिल्लामा पछिल्लो १० दिन यता समुदायस्तरमा ५५ जना बढीमा भाईरस संक्रमण देखिएको छ । कोरोना भाईरस संक्रमितको संख्या जिल्लामा ८ सय ५७ पुगेको छ । सक्रिय संक्रमित १ सय २ जना रहेका छन् । 


प्रतिक्रिया