संघीय सरकारलाई फेवाताल दुख्दैन : मुख्यमन्त्री गुरुङ

आश्विन ११, २०७७ | पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारले फेवातालको सीमांकनमा ठोस निर्णय नलिँदा संरक्षणका अन्य काम अघि नबढेको बताउनु भएको छ । सर्वोच्च अदालतको फैसलाले फेवातालको सीमा निर्धारणको जिम्मा संघीय सरकारलाई दिएपनि देखिने गरी काम सुरु नभएको उहाँले बताउनुभयो । 

‘फेवातालको आधिकारिक क्षेत्रफल सहितको नक्सा न मालपोत, न नापी कार्यालय, न भूमि व्यवस्था मन्त्रालयमा नै भेटिन्छ,’ ४१ औं विश्व पर्यटन दिवसको अवसरमा आइतबार पोखरामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘नेपाल सरकारलाई फेवाताल दुख्दैन । दुख्ने भनेको प्रदेश सरकारलाई हो, महानगरलाई हो, यहाँका स्थानीयलाई हो ।’ 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले ताल पारी किनारमा आयोजना गरेको ‘पर्यटन र ग्रामीण विकास’ विषयक अन्तरक्रियामा उहाँले चालू आर्थिक वर्ष भित्र सीमांकन टुंग्याइने बताउनुभयो । प्रदेशको सहयोगमा पोखरा महानगरपालिकाले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर प्रधानमन्त्रीलाई बुझाएकाले सीमांकन चाँडै टुंगिने उहाँले उल्लेख गर्नुभयो । 

‘पहिले बनेका धेरै प्रतिवेदन पानामै सीमित भए, कार्यान्वयन भएनन्,’ उहाँले भन्नुभयो, ‘महानगरको प्रतिवेदन अहिलेसम्मकै राम्रो छ ।’ विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन र सर्वोच्चको फैसलालाई आधार बनाएर विभिन्न विकल्प दिइएको उहाँले सुनाउनुभयो । 

टानको नेतृत्वमा मुख्यमन्त्री, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जीसी, पर्यटन व्यवसायी सम्मिलित टोलीले फेवाताल फन्को मार्ने पैदलमार्गको सम्भावना खोजी गर्न त्यस क्षेत्रको अवलोकन गर्नु भएको थियो ।

मन्त्री लम्सालले कोभिड–१९ लाई बिर्सेर पर्यटन व्यवसाय विस्तारै सञ्चालनमा ल्याउन व्यवसायीलाई आग्रह गर्नुभयो । सांसद पहारीले सर्वोच्चको फैसला कार्यान्वयन गर्नु पहिलो काम भएको बताउनुभयो । महानगर प्रमुख जीसीले ताल पारीको रानीवनको सौन्दर्यीकरण गर्न गुरुयोजना बनाएर जिम्मेवारी बाँडफाँट गरी काम गर्नुपर्ने बताउनुभयो । 

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोख्रेलले विश्व स्वास्थ्य संगठन र पर्यटन बोर्डको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा दिन पोखराका व्यवसायी तयार रहेको बताउनुभयो । टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले फेवा ताल वरिपरि फुट ट्रेल तथा साइकल ट्रेल निर्माण गर्न सके पर्यटकको बसाइ लम्बिने बताउनुभयो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको भनिए पनि कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता थियो । 


प्रतिक्रिया