हिरासतमा मृत्यु प्रकरण : पीडितले जाहेरी फेरे

आश्विन १२, २०७७ | रौतहट

रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय विजय रामको हिरासत मै मृत्यु भएको घटनामा पीडित परिवारले जाहेरी फेरेको छ । 

हिरासतमा यातना दिएकै कारण विजयको मृत्यु भएको दाबी गदै पीडित परिवारले यसअघि तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी रवीराज खड्कासहित ६ जना प्रहरीविरुद्ध जाहेरी दिएको थियो । तर, सरकारी वकिलको कार्यालयमा प्रहरी अधिकारीहरु विरुद्ध यातना र ज्यान सम्बन्धी कसुरमा जाहेरी परेको ३ दिनमै विजयका बाबु पनिलालले बयान फेरेका हुन् ।

अहिले एसपी खड्का र डीएसपी ज्ञानकुमार महतोलाई चोख्याउँदै पीडित परिवारले एक जना प्रहरी निरीक्षक र दुई जना हवल्दारको मात्र नाम राखेर हुलाक मार्फत जिल्ला प्रहरीमा अर्को जाहेरी पठाएको हो ।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजयका बुबा पनिलालले गत भदौ २४ गते एसपी खड्का, गरुडाका तत्कालीन डीएसपी महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, सई विरेन्द्र यादव, हवल्दारद्धय हिरोज मियाँ धुनिया र मुन्ना सिंहविरुद्ध जाहेरी दर्ता गराएका थिए ।

मृतकका बाबु पनिलालले दिएको अर्को जाहेरीमा निलम्बित इन्स्पेक्टर सिंह र हवल्दारद्वय यादव, धनियाँको मात्र उल्लेख छ । जिंगडियाका २० वर्षीय निरञ्जन रामको हत्या घटनामा गत साउन ३२ गते पक्राउ परेका विजयको भदौ १० गते उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियो । 

जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले पनिलालले हुलाक मार्फत पठाएको अर्को जाहेरी प्राप्त भईसकेको जानकारी दिनुभयो । जिल्ला प्रहरीका अनुसार हुलाकबाट आएको जाहेरीमा तत्कालीन एसपी खडका, डीएसपी महतो र सई यादवको नाम हटाईएको छ । विजयको मृत्युपछि पोष्टमार्टमका लागि काठमाडौं लगिएकोमा दुई सातासम्म शव त्यही परेको थियो । 

घट्नामा संलग्नलाई कारबाहीको माग गर्दै पनिलालको पक्षमा आन्दोलन गरिरहेका दलित अगुुवाहरु विजयको शव दाहसंस्कार र बुबाले जाहेरी फेरेको थाहा पाएर आश्चर्यमा परेका छन् । गत भदौको अन्तिम तिर गाउँकै केही मानिसको साथमा मृतकका बुबा पनिलाल काठमाडौं गएका थिए । त्यहीँ उनले छोराको शव बुझेर दाहसंस्कार गरेका थिए । त्यसपछि जाहेरी फेरेर पठाएको दलित अगुवा रामविनय पासवानले बताउनुभयो ।

‘हामी पीडितले न्याय पाओस् भनेर सडकमा सघर्ष गरिरह्यौं । तर, कसैलाई जानकारी नदिई छोराको शव दाहसंस्कार गरेर जाहेरी समेत फेऱ्यो, उहाँले भन्नुभयो, ‘हामी आश्चर्यमा परेका छौं । आखिर सरकारी वकिल कार्यालयमा पनिलालले नै हस्ताक्षर गरेर जाहेरी दर्ता गराएका थियौं । अहिले फेर्नु पर्ने के कारण थियो र ?’

सरकारी वकिल कार्यालयले पीडितको जाहेरी दर्ता गरी सोही बेला आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाईसकेको थियो । डीएसपी श्रेष्ठले विजयको मृत्युको सम्बन्धमा पीडितले दिएको जाहेरी बारे चाँडै अनुसन्धान थाल्ने बताउनुभयो । 

पीडित परिवारले एसपी खड्का सहितका प्रहरी अधिकृतविरुद्ध मुद्दा दर्ता हुनुपर्ने माग अघि सारेर आन्दोलन गरिरहेको बेला आर्थिक प्रलोभन र दबाबमा जाहेरी फेर्न लगाईएको दलित अगुवाहरुको आरोप छ । पनिलालले पनि आफूलाई उचित क्षतिपूर्ति पाउने भरपर्दो आश्वासनपछि शव बुझेर दाहसंस्कार गरेको सघर्ष समितिलाई जानकारी दिएका छन् । जिंगडियाका २० वर्षीय निरञ्जन रामको गत साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको घट्नामा पक्राउ परेका विजयलाई जिल्लाबाट खटेको इन्सपेक्टर सिंहको टोलीले हत्या कबुल गराउने निहुँमा यातना दिंदा मृत्यु भएको थियो ।

यो घट्नामा गृह मन्त्रालयले गठन गरेको टोलीले छानबिन गरी प्रतिवेदन बुझाईसकेको छ । टोलीले समेत यातनाकै कारण विजयको मृत्यु भएको ठहर गरेको छ । प्रहरीको यातनाबाट गम्भीर बिरामी परेका विजयको भदौ १० गते उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियो । त्यसपछि निरन्जन, विजय हत्याकाण्ड सघर्ष समिति गठन गरेर पीडित र स्थानीयले प्रहरीविरुद्ध आन्दोलन गरिरहेका थिए । 

तत्कालीन एसपी खड्का सहित ६ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता भएपछि आन्दोलन रोकिएको थियो । यो घट्नामा सुरु देखि नै सघर्ष समिति र पीडितले एसपी खड्का, डीएसपी महतो र इन्स्पेक्टर सिंहको टोलीलाई कारबाहीको माग अघि सारेर आन्दोलन थालेका थिए । इन्स्पेक्टर सिंह र हवल्दारद्वय निलम्बनमा परिसकेका छन् । प्रहरीविरुद्ध दिनहुँ जुलुस र झडप हुन थालेपछि प्रदेश २ प्रहरी कार्यालय जनकपुरले डीएसपी महतोको सरुवा गरेको थियो । यस्तै, प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई फिर्ता बोलाएर एसपी सिद्धिविक्रम शाहलाई पठाएको थियो ।


प्रतिक्रिया