प्रदेश २ मा स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो

आश्विन १२, २०७७ | धनुषा

प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले प्रदेशमा प्राविधिक कर्मचारीका लागि स्वीकृति दिएको हो । 

बैठकले संघीय ऐन अनुसार प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवातर्फ सातौं तहसम्मका कर्मचारी भर्ना गर्न अनुमति दिएको हो । प्रदेश निजामित सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनको अधारमा भर्ना गर्न स्वीकृति दिएको छ । 

बैठकले लोक सेवा आयोगको ओएनएम पारित गर्नुका साथै प्रदेश लोक सेवा आयोगको सचिवका रुपमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको छ । 

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले स्थायी नियुक्तिको प्रक्रिया सुरु गरेको छ ।


प्रतिक्रिया