होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमितको मृत्यु

आश्विन १२, २०७७ | नेपालगञ्ज

होम आइसोलेसनमा बस्दै आएकी जाजरकोटकी एक कोरोना सक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएकी जाजरकोट जुनीचाँदे गाउँपालिका–५ की ७६ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको हो । 

होम आइसोलेशनमा बस्दै आएकी उनी बिमारी भएपछि उपचारका लागि नेपालगञ्ज आएकी थिईन् । कोहलपुरमा उनका छोरा बस्दै आएका छन् । उनलाई असोज ६ गते कोरोना पुष्टि भएको थियो । 

होम आइसोलेसन बसेकै बेला स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लैजाँदै गर्दा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । 

६० वर्ष माथिका व्यक्तिलाई होम आइसोलेसनमा राख्न पाउने प्रावधान भएपनि कसैसँग समन्वय नै नगरी ती वृद्धालाई होम आइसोलेसनमा राखिएको पाइएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्गले बताउनुभयो । 


प्रतिक्रिया