सेती प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

आश्विन १२, २०७७ | धनगढी

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ निवासी ६३ वर्षीया महिलाको उपचारको क्रममा सोमबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो । 

मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी असोज ७ गते अस्पताल भर्ना भएकी थिईन । उनको स्वाबको पीसीआर परीक्षण गर्दा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनको आईसीयूमा राखेर उपचार भईरहेको थियो । 

उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । योसँगै कैलालीमा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकामा मात्रै तीन जनाको मृत्यु भएको छ । 

सु्दूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । कैलालीमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ३३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको सख्या ४ सय ९१ रहेको छ । संक्रमण मुक्त हुनेको १ हजार ८ सय ३५ रहेको छ । 


प्रतिक्रिया