कोरोनाको त्रासले प्रसूति गृहमा सुत्केरी न्यून

असार २७, २०७७ | मुगु

कोरोना भाइरसको महामारीका कारण मुगुको प्रसूति गृहमा सुत्केरी हुने महिलाको संख्या न्यून भएको छ । रोग सर्ने डरले गर्दा गर्भवती घरमै सुत्केरी भएपछि प्रसूति गृहमा न्यून देखिएको हो । 

जिल्लामा मानव अधिकार तथा वातावरण विकास केन्द्रद्वारा सञ्चालित १२ वटा प्रसूति गृहमा लकडाउनको अवधिमा न्यून सुत्केरी भएको पाइएको छ । ढुम, गम्था, खमाले, हयाङलु, सेरी, श्रीकोट, रारा कच्चे, कालै, रोवा, सिप, लगायत १२ वटा प्रसूति गृहमा गत चैत १५ देखि बैशाख १५ सम्म २० जना सुत्केरी भएको केन्द्रका स्वास्थ्य प्रमुख पहलमान रोकायाले बताउनुभयो । 

गत बैशाख १५ देखि जेठ १५ सम्म ३२ जना र जेठ १५ देखि असार १५ सम्म ४१ जना गर्भवती प्रसूति गृहमा सुत्केरी भएको उहाँले जानकारी दिनुभयो । कोरोना महामारी फैलिनु भन्दा अगाडी एउटा प्रसूति गृहमा एक महिनामा ४५ देखि ५० जना गर्भवती सुत्केरी भएको केन्द्रको तथ्याङ्क छ । 

लकडाउन सुरु भएपछि प्रसूति गृहमा सुत्केरी हुन आउनेको संख्या न्यून भएको उहाँको भनाई छ । रोग सर्ने डरले गर्भवतीले घरमै असुरक्षित तरिकाबाट बच्चा जन्माउन बाध्य भएका छन् ।

अर्कोतिर घरमा सुत्केरी हुने महिलाले सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । असार लागेपछि प्रसूति गृहमा सुत्केरी हुनेको संख्या क्रमिक रुपले वृद्धि हुन थालेको रोकायाले बताउनुभयो । जिल्ला अस्पताल ठिनीमा पनि लकडाउनको अवधि भित्र सुत्केरी हुन आउने महिलाको संख्या न्यून देखिएको छ । 


प्रतिक्रिया