गण्डकीमा सरुवा रोग अस्पताल सञ्चालन

श्रावण १, २०७७ | पोखरा

गण्डकी प्रदेश सरकारले आफ्नो स्वामित्वमा रहने गरी संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका–३० मा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व लिंदै गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेको हो । सो अस्पतालको बिहीबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गर्नुभयो ।

समुदायका स्थानीयले आफ्नै लगानीमा सञ्चालन गरेको सो अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्दै बिहीबार नै सम्झौता गरेका छन् । सरकारको तर्फबाट सामाजिक विकास मान्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्ले र अस्पतालको तर्फबाट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेलले सम्झौता गरेका हुन् । रोहवरमा प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मा बसेका थिए । 

मुलुकमै एउटा मात्रै सरुवा रोग अस्पताल काठमाडौंपछि दोस्रो अस्पताल पोखरामा स्थापना भएको हो । यो प्रदेशकै पहिरो अस्पताल हो । अर्को व्यवस्था नहुँदासम्म लायन्स अस्पतालकै व्यवस्थापन समितिले काम गर्ने, अस्पतालमा रहेका ४२ जना कर्मचारी यर्थावत राख्ने र सेवा दिने निर्णय भएको सामाजिक विकास मन्त्रालयका स्वाथ्य महाशाखा प्रमुख डा रामबहादुर केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्को व्यवस्था नहुँदासम्म भनेर प्रदेश सरकारले एक/एक जना चिकित्सक, लेखा र प्रशासनको कर्मचारी खटाइएको छ । सरकारको मातहतमा भएपछि स्थायी कर्मचारी नै राख्नुपर्छ ।’

उहाँले पहिला दिंदै आएको सेवा सञ्चालनमै रहने बताउनुभयो । अस्पताल निर्माणको काम भइरहेकाले पनि यसको व्यवस्थापन गर्न अझै एक हप्ता लाग्ने उहाँको भनाई छ । गण्डकी प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँमा गरी ३८ वटा आइसोलेसन सेन्टर निर्माण गरेको छ ।

जुनमध्ये एक थियो साविकको लेखनाथ सामुदायिक लायन्स अस्पताल । तर, यहाँ हालसम्म आइसोलेसन सेन्टर निर्माण भएको छैन । निर्माणको काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डा.केसीका अनुसार अवको एक हप्तामा आइसोलेसन सेन्टर निर्माण हुन्छ । सरकारले यहाँ ६० वेडको आइसोलेसन सेन्टर बनाउने योजना सार्वजानिक गरेको थियो । 

अहिले यहाँ जर्नल र ओपीडी बाहेक अन्य उपचार भने हुन नसकेको अस्पतालका प्रशासन प्रमुख केदार लामिछानेले बताउनुभयो । १५ सय शैय्याको स्वीकृत सो सामुदायिक अस्पतालमा हाल ६० शैय्या मात्र छ । व्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेलले बिनासर्त अस्पताल सरकारलाई हस्तान्तरण गरेको बताउनुभयो । 


प्रतिक्रिया