मुगुमा एक महिनामै ३५ बालबालिकामा कुपोषण

श्रावण २५, २०७७ | मुगु

जिल्लामा एक महिनामै करीब ३५ बालबालिकामा कुपोषणको समस्या देखिएको छ । साउन महिनामा मात्र ३५ जना बालबालिकालाई कुपोषणको समस्या देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी पशुराम नेपालीले बताउनुभयो । 

कुपोषण देखिएका बालबालिका मध्ये ३४ जनालाई सर्वोत्तम पिठो दिएर पठाएको र ४ जना अस्पतालमै उपचाररत रहेको उहाँले बताउनुभयो । मुगुमा गम्भीर प्रकृति कुपोषण देखा परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

छायाँनाथ रारा नगरपालिका, सोरु र कार्मारोङ गाउँपालिकाका बस्तीमा रहेका गरीब दलित परिवारका बालबालिकामा गम्भीर प्रकृतिको कुपोषण देखा परेको जिल्ला कुपोषण ब्यवस्थापन शाखाका लोकबहादुर विकले बताउनुभयो ।

एक महिनामै ३५ जना बालबालिकामा कुपोषण देखा परेपछि मुगु उच्च जोखिम रहेको पाइएको छ । जलवायु परिर्वतन, बाल विवाह, पारिवारिक समस्या, स्तनपानको कमी, परिवार नियोजन नगर्ने जस्ता कारणले गर्दा मुगुमा गम्भीर प्रकृतिको कुपोषण देखा परेको सूचना अधिकारी नेपालीले जानकारी दिनुभयो ।

जिल्लाको चार वटा स्थानीय तहमा कुपोषण न्यूनिकरणको लागि बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भएपनि प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा जोखिम बढेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।


प्रतिक्रिया