वीपी प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

श्रावण २७, २०७७ | सुनसरी

उपचारका लागि आएका बिरामी र उपचारमा संलग्न चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । 

साउन २८ गतेदेखि प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिने प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. विकास साहले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानमा भर्ना भएका बिरामी र उपचारमा संलग्न चिकित्सकमा पनि कोरोना संक्रमण देखिन थालेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी सेवा बन्द गरिने भएको हो । 

कोरोना संक्रमितका लागि एक सय शय्याको छुट्टै आइशोलेसन र आइसीयु शय्या सहितको कोभिड–१९ अस्पताल स्थापना भएपछि अन्य बिरामीको उपचारका लागि ओपीडी सेवा खुला गरिएको थियो । 

प्रतिष्ठानमा बालरोग, स्त्री तथा प्रसूति, आँखा, नाक कान घाँटी, मानसिक रोग, हाडजोर्नी, मुटु, छाला तथा यौन रोग, सर्जरी, विभिन्न स्पेशियालिटी ओपीडी, सुपर स्पेशियालिटी ओपीडी, दन्त चिकित्साका नौ ओपीडी विभाग, इन्टर्नन मेडिसिन विभागका ओपीडी बेग्लाबेग्लै कक्षमा सञ्चालित हुँदै आएका थिए ।

निर्देशक डा.साहले भन्नुभयो, ‘अर्को सूचना जारी नभएसम्म प्रतिष्ठानको ओपीडी सेवा मात्र बन्द गरिएको हो । तर, आकस्मिक विभाग, वार्ड सेवा, स्त्री तथा प्रसूति विभाग, आइसीयु, बालरोग विभागको आकस्मिक सेवा लगायत बन्द गरिएको छैन ।’ 

दुई साता यता प्रतिष्ठान भित्रको आवासीय क्षेत्रमा बस्ने तीन चिकित्सक, एक इन्र्टन, एक महिला र एमबीबीएसका तीन विद्यार्थी सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी उपचारका लागि आएका मध्ये एक जना प्रसूति विभागमा, एक जना हाडजोर्नीको अब्जर्भेसन वार्डमा र एक जना सर्जिकल वार्डमा भर्ना भएपछि शल्यक्रिया गर्ने बेलामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारका लागि आउने बिरामीमा र प्रतिष्ठानमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण फैलिएपछि बन्द गरिएको ओपीडीको विकल्पमा टेलिमेडिसिन र फोन मार्फत सम्पर्क गरेर आफ्नो समस्या राख्न सक्ने व्यवस्था मिलाएको डा. साहले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘पहिलो चरणको लकडाउनको बेला ओपीडी बन्द हुँदा हामीले बिरामीलाई अनलाइन भिडियो कल वा मोबाइल कल मार्फत आवश्यक परामर्श दिएका थियौं । उनीहरुको रोगको गम्भीरता अनुसार अस्पतालमा बोलाउने र थप उपचार गर्ने गरेका थियौं । ओपीडी नै बन्द भएकाले फेरि तिनै प्रविधि मार्फत बिरामीलाई परामर्श दिन्छौं ।’ प्रतिष्ठानले टेलिमेडिसिन वा मोबाइल कलका लागि पहिले नै विभिन्न विभागको २१ वटा मोबाइल नम्बर सार्वजनिक गरिसकेको छ ।  


प्रतिक्रिया