कोरोना संक्रमित गर्भवतीले छोरी जन्माइन्

प्रतिकात्मक तस्बिर 

भाद्र ६, २०७७ | तिलोत्तमा

कोरोना भाइरस संक्रमित रुपन्देहीको बुटवल उपमहानगरपालिका नहरपुरकी एक गर्भवतीले छोरीलाई जन्म दिएकी छन् । शनिबार बिहान ८ बजे शल्यक्रिया मार्फत उनले छोरीलाई जन्म दिएको कोहलपुर मेडिकल कलेजका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताउनुभयो । 

बुटवलबाट भदौ १ गते उपचारका लागि नेपालगञ्ज लगिएकी कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया भएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

‘यसअघि २ पटकसम्म अपरेशनबाटै बच्चा जन्माएको, हर्नियाको समेत शल्यक्रिया गरेको हुँदा अप्ठेरो केश थियो, उहाँले भन्नुभयो, गाईनाक्लोजीस्ट डा. विनोद महासेठ सहित अन्य चिकित्सक र नर्स गरी ७ जनाको टीमले सफल शल्यक्रिया गरेको हो ।’ 

आमा कोरोना संक्रमित भएपनि अहिले दुबै स्वस्थ रहेको भन्दै उहाँले थप १ हप्ता आइसोलेसनमा राखेर उपचार गरिने बताउनुभयो । एक हप्तापछि पुन: पीसीआर विधिबाट संक्रमितको स्वाबको नमूना परीक्षण गरिने डा.श्रेष्ठले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा पर्याप्त श्रोत साधन नभएपछि उनलाई नेपालगञ्ज लगिएको थियो । नहरपुरकी २८ वर्षीया सुत्केरीका श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेकी उनको पीसीआर रिपोर्ट समेत पोजेटिभ आएको थियो । 

सरकारले नै तोके अनुसार लेभल ३ अन्तर्गत कोहलपुर मेडिकल कलेजमा संक्रमितको शल्यक्रियाको सुविधा उपलब्ध रहेकाले परिवारका सदस्यले उनलाई भदौ १ गते कोहलपुर मेडिकल कलेजका लगेका थिए ।


प्रतिक्रिया